प्रदेशको नाम ‘कोशी’मा समर्थन गर्दै एमालेले भन्याे- विरोधको औचित्य छैन

हिमाल प्रेस ३० वैशाख २०८० १९:२५
4
SHARES
प्रदेशको नाम ‘कोशी’मा समर्थन गर्दै एमालेले भन्याे- विरोधको औचित्य छैन

काठाडौँ- नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी’ लाई समर्थन गरेको छ। बिहीबारदेखि काठमाडौँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रदेशको नाम ‘कोशी’मा समर्थन जनाएको हो। शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा प्रदेशको नाम कोशी राखिएको सम्बन्धमा प्रस्ताव पेस गरिएको थियो।

छलफलका क्रममा लामो समयदेखि थाती रहेको प्रदेशको नाम ‘कोशी’का रूपमा नामाकंन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रदेशको तत्कालीन सरकारलाई धन्यवाद व्यक्त गरिएको थियो।

उक्त प्रदेश पनि समग्र मुलुकजस्तै बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त बनेको एमालेको भनाइ छ। ‘यस प्रदेशलाई बहुपहिचान झल्किने गरी कोशी प्रदेश नामाकरण गरिनु उचित र स्वाभाविक हो भन्ने पार्टीको मान्यता रहेको छ,’ पार्टी केन्द्रीय कमिटी बैठकमा गरिएको प्रस्तावमा उल्लेख छ।

प्रदेशसभाको ९० प्रतिशतभन्दा बढी सदस्यहरूको सहभागिता र लामो छलफलपछि भएको नामाकरणको विरोधको कुनै औचित्य नरहेको एमालेको भनाइ छ। प्रदेशको नाम कोशी राखिएको भन्दै उक्त प्रदेशमा विरोध जारी छ। केही दिनअघि एमाले अध्यक्ष केपी ओली गृह प्रदेश पुग्दा पनि प्रदेशको नामकरणकै विषयमा विरोध गर्नेहरूले ओलीलाई ढुँगामुढा गरेका थिए।

तर एमाले पार्टीले कोशी नामकरण वैधानिक सभाले वैधानिक र लोकतान्त्रिक विधिबाट गरेकाले विरोधका क्रममा जातीय सद्भाव खल्बल्याउने, सम्प्रदायिक द्वेष फैलाउने, समाजमा अराजकता फैलाउनेलगायत घटना उचित नरहेको बताएको छ।

प्रकाशित: ३० वैशाख २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =