‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकाको दबाब छ, गृहमन्त्रीले गजब गर्नुभयो भन्नु बेकार हो’

हिमाल प्रेस २८ वैशाख २०८० १४:४७
8
SHARES
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकाको दबाब छ, गृहमन्त्रीले गजब गर्नुभयो भन्नु बेकार हो’

काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिका जोडिएको बताएका छन्। आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै उनले अमेरिकाको चासो र दबाब नभएको भए कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ नपर्ने बताएका हुन्।

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन,’ उनले लेखेका छन्, ‘यो काण्डबारे द्रुत गतिमा भइरहेको छानबिन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

उनले माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बूढीगण्डकीलगायतका काण्डमा किन ठूला नेता पक्राउ पर्दैनन् भनेर प्रश्न पनि गरेका छन्।

‘तसर्थ, ‘वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ’ भन्नु बेकार छ। जुन दिन सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे, जे भन्नु पर्छ भनौँला,’ उनले लेखेका छन्, ‘गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनुभएको हो भने उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न सक्नुहुन्छ भन्नेमा सन्देह छैन। होइन भने यसबाट कोही धेरै उत्साहित हुनुपर्ने कारण छैन। यो केबल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणवश सेतो रंग दल्ने प्रयास मात्र हो।’

प्रकाशित: २८ वैशाख २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =