मध्यपूर्वकी नेपाली मोडल

हिमाल प्रेस २३ वैशाख २०८० १५:३७
34
SHARES
मध्यपूर्वकी नेपाली मोडल

काठमाडौँ- मध्यपूर्वी देशहरूमा खासगरी नेपालीहरूले काम गर्ने गन्तव्य मुलुकका रूपमा चिनिन्छन्। संयुक्त अरब इमिरेट्स (यूएई)को पहिचान पनि नेपालमा लगभग त्यही नै हो। यूएई पनि नेपाली श्रमिकको गन्तव्यस्थलकै रूपमा बढी चिनिन्छ।

हुन पनि प्रायः नेपालीहरू यूएईलगायत देशमा कामकै सिलसिलामा त्यहाँ पुग्छन्। खाडी मुलुक भएकाले कडा नियम र तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदैछ। त्यसैले पनि यी देशमा मोडलिङको काम वा व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो।

तर कामकै सिलसिलामा यूएईमा आफ्नो फरक पहिचान बनाएको नेपाली नाम हो, चाँदनी। कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उनी सफल छिन्।

बाल्यकालदेखि नै चलचित्र क्षेत्रमा रुचि राख्ने चाँदनी पाठक दुबईकी एक व्यावसायिक मोडल हुन्। अहिले उनले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसकेकी छिन्।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उनको मोडलिङको यात्रा सुरु भएको हो। अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि उनी बाहिरिएकी थिइन्।

त्यसपछि उनले म्युजिक भिडियोमा अभिनय एवं नृत्य निर्देशनलाई निरन्तरता दिइन्। त्यसरी सुरु भएको उनको सोख अहिले व्यवसायमा परिणत भएको छ। अहिले यूएईमा नेपालीहरूमाझ उनी एक सफल मोडलका रूपमा चिनिन्छन्। ‘मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ। चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ,’ उनले भनिन्, ‘एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ। आफ्नै व्यापार छ। मोडलिङ पनि गरिरहेकी छु।’

दुबई पुगेर उनले सात भिडियोमा काम गरिसकेकी छिन्। प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुन्छ। दुबईको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उनले बताइन्। ‘म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिन,’ उनले भनिन्, ‘मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो।’

र्‍याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका पाएपछि उनी नेपाली समाजको प्रतिनिधिसमेत बनिन्। बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभएको उनकोभनाइ छ। यूएईका कतिपय सहरमा कडा कानुन रहे पनि आफू बस्ने सहरमा त्यति असहज नभएको उनले बताइन्।

भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा यूएईमा अवसर बढी भएको बताइन्। ‘आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु,’ उनले भेनिन्, ‘हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैँ हुँ। मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ।’

म्युजिक भिडियो निर्देशनको तयारीमा रहेकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ। अहिले उनी इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भइरहेको ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आएकी छिन्। संघर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको उनको भनाइ छ। ‘यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ,’ उनले भनिन्, ‘यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो।’

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौँमा आफ्नो प्रस्तुति दिइरहेका छन्। नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साताबाट सुरु भएको छ।

उक्त प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार दिइने बताइएको छ। यी दुवै शोमा प्रथम हुनेले १ करोड रुपैयाँ, द्वितीयले ३० लाख र तृतीयले २० लाख रुपैयाँ पाउने बताइएको छ। रासस

प्रकाशित: २३ वैशाख २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =