गोठमै आधा जीवन गुजारेका नन्दप्रसाद

हिमाल प्रेस २३ वैशाख २०८० १२:२०
4
SHARES
गोठमै आधा जीवन गुजारेका नन्दप्रसाद

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जंगलले घेरिएको छ।

समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जंगलको बीचमा खाली जग्गा (खर्क) छ। यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन्।

‘यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो’, ७६ वर्षीय पुनले भने, ‘बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन’, बाबुबाजेले गर्दै आएको भैँसीपालनलाई निरन्तरता दिन जंगल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताएका थिए।

पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रूपमा समेत काम गरेका थिए। तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाएका छन्।

‘राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु’, पुनले भने, ‘विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो।’

वर्षमा चार÷पाँच वटा राँगा भैँसी र मासिकरूपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन्। घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री गर्छन्। दूध, दही गोठबाटै बिक्री हुन्छ।

दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई रु एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिएका छन्। अविवाहित एक छोरीले घर धानेर बसेकी छन्।

विवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन्। एक जना छोरा बेनीमा छन्। दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ।

‘दिदीहरूको पोखरामा आफ्नै घर छ। बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो’, रेमुले भने, ‘बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो । बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु। दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ।’

नन्दप्रसादको जंगलको बसाइँ फरक किसिमको छ। उनले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाएका छन्। छानो र चारैतिर काठले बारेको घरको भूइँमा बस्ने ठाउँमा पनि काठ नै छन्। काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ।

तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ। हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ। पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन्।

एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिएका छन्। भैँसी चरनका लागि जंगलमा छाडिदिने गर्छन्। गोठमा बाधिएका पाडापाडीका लागि जंगलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन्।

भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्छन्। चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ।

सन्तोष गौतम/रासस

प्रकाशित: २३ वैशाख २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =