राष्ट्रपति पौडेलको उपचार खर्चबारे के भन्छ गगन थापाको सचिवालय?

हिमाल प्रेस २१ वैशाख २०८० ११:१७
14
SHARES
राष्ट्रपति पौडेलको उपचार खर्चबारे के भन्छ गगन थापाको सचिवालय? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतको नयाँ दिल्लीमा छन्। यससँगै विशिष्ट व्यक्तिको स्वास्थ्य उपचारसम्बन्धी उपलब्ध हुने सेवासुविधाबारेको बहस सतहमा आएको छ।

अर्कोतर्फ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले दिल्लीमा भएको स्वास्थ्य उपचारको खर्च आफैँले तिर्छु भन्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि यो बहसले राजनीतिक रंग लिएको छ।

राष्ट्रपतिले एक विज्ञप्ति जारी गर्दै उपचार खर्च आफैँले तिर्न चाहेको बताएपछि बहस झनै पेचिलो बनेको छ। यसै विषयमा थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलले विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सेवा, सुविधाबारे जनस्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थाभन्दा बाहिर कोही पनि जान नहुने बताए।

राष्ट्रपतिले आफ्नो स्वास्थ्य उपचारमा लागेको खर्च स्वयंले तिर्नुपर्छ भन्ने आशय थापाको रहेको उनको भनाइ छ। उनले विशिष्ट व्यक्तिले सामान्य उपचारदेखि जटिल उपचारसम्म राज्य कोषबाट सुविधा पाउने र गरिब निमुखा उपचारनै नपाइ मर्नुपर्ने भेदभाव गर्नु नहुने भन्दै विद्यमान ऐन सबैले मान्नुपर्ने विचार सांसद गगनकुमार थापाको रहेको उनले स्पष्ट पारे।

जनस्वास्थ्य ऐन २०७५ को दफा ३० मा वैदेशिक उपचारबापत खर्च उपलब्ध नहुने व्यवस्था गरेको र राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा ऐन २०७४ को दफा ९ मा नेपालमा उपचार हुन नसक्ने भए मेडिकल बोर्डको सिफारिसमा मात्र विदेशमा गएर उपचार गराउन सकिने व्यवस्था छ। त्यसको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेकाले वर्तमान राष्ट्रपतिको स्वास्थ्य उपचारको हकमा यी सबै प्रक्रिया पूरा नभएको सांसद थापाको सचिवालयले जनाएको छ। त्यसैले उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्नु राम्रो हुने भन्दै सार्वजनिक अपिल गरेको सचिवालयले स्पष्ट पारेको छ। -न्युज एजेन्सी नेपाल

प्रकाशित: २१ वैशाख २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =