रेसुंगा विमानस्थल पुग्यो वायुसेवा निगमको जहाज

हिमाल प्रेस १५ वैशाख २०८० १०:१८
16
SHARES
रेसुंगा विमानस्थल पुग्यो वायुसेवा निगमको जहाज

गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान गरिएको छ। रेसुंगा नगरपालिका-१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबीटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।

निगम र रेसुंगा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो। २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो।

कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ। रेसुंगा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा छ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ।

कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेलले बताए। ‘रेसुङ्गा–काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर ६ हजार पाँच सय हुने भनिए पनि अन्तिममा छ हजारसम्म कायम हुन सक्छ,’ उनले भने।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए। रेसुंगा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो।

लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =