स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि चार कम्पनीको आवेदन

हिमाल प्रेस १० वैशाख २०८० १७:०९
2
SHARE
स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि चार कम्पनीको आवेदन

काठमाडौँ- नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन गर्न इजाजत का लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि दुई–दुईवटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ। इजाजतपत्र लिनका लागि आवदेन दिने आज (आइतबार) अन्तिम दिन थियो।

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज अफ नेपालको आवेदन परेको छ। त्यस्तै कमोडिटी मार्केटका लागि मेक्स नेपाल र मल्टिडेरिभेटिभ एक्सचेन्जको आवेदन परेको बोर्डले जानकारी दिएको छ।

सर्वोच्च अदालतको चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ ब्रोकर लाइसेन्स जारी गर्न बाटो खुलेको थियो। धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यवसायको अनुमतिपत्रका लागि निवदेन मागेको थियो। बोर्डको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।

चैत २६ गतेको फैसलाले उक्त माग खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म समयसीमा राखेर आवेदन खुलाएको थियो।

प्रकाशित: १० वैशाख २०८० १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =