युरोपेली क्लब फुटबलमा इटालेली दबदबा

हिमाल प्रेस ८ वैशाख २०८० १४:५१
12
SHARES
युरोपेली क्लब फुटबलमा इटालेली दबदबा

काठमाडौँ- आतिरिक्त समयमा दुई पटक गोल गर्न सकेपछि एएस रोमाले युरोपा लिग क्वार्टरफाइनलको दोस्रो लेगमा फियोनार्डलाई ४-१ ले पराजित गरेको छ। स्टाडियो ओलिम्पिकोमा बिहीबार राति प्राप्त यो जितले रोमालाई सेमिफाइनलमा पुर्‍यायो। लगातार दोस्रो सिजन युरोपेली क्लब फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न रोमाले डच प्रतिद्वन्द्वीलाई समग्रमा ४-२ ले पछि पारेको हो।

पहिलो लेग १-० ले हारेकाले रोमा घरेलु मैदानमा अनिवार्य जितको खोजीमा थियो। रोमाले पहिलो गोल गर्न ठ्याक्कै एक घण्टा पर्खनु पर्‍यो। पाहुना टिमका डेभिड हान्कोले १८ यार्ड बक्सभित्र खराब क्लियर गरेपछि बल लियोनार्दो स्पिनाजोलाले भेटेका थिए। विंगब्याक भूमिकामा रहेका स्पिनाजोलाले त्यसपछि ‘लो सट’ लिए र गोल गरे।

फियोनार्ड ८० औँ मिनेटमा खेलमा फर्किएको थियो। सेबास्टियन सिमान्स्कीको लामो पासमा ब्राजिलका युवा फरवार्ड इगोर काइक्साओले सटिक हेडर गोल गरे। यो सँगै खेलमा फियोनार्डले सेमिफाइनल सम्भावना बढाएको थियो।

तर पाउलो डिबालाले ८९ औँ मिनेटमा रोमाको अग्रता स्थापित गरे। कप्तान लोरेन्जो पेलेग्रिनीले दिएको ‘थ्रु बल’ लाई प्लेमेकर डिबालाले गोलमा परिणत गरेका थिए। यद्यपि समग्रमा भने खेल बराबरीमै थियो। आतिरिक्त समयमा स्टिफन एल सरावीले गरेको गोलले भने रोमा समग्रमा ३-२ ले अघि बढेको थियो। सरवीले ट्यामी अब्रहामको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए।

रोमाले थपिएको आघा घण्टाभित्र फेरि एक गोल गर्‍यो। पहिलो लेगमा पेनाल्टी मिस गरेका पेलेग्रिनीले यसपालि रिबाउन्डमा गोल गरे। स्ट्राइकर अब्रहामले गरेको प्रहार जस्टिन बिज्लोले ब्लक गरेका थिए। तर रिबाउन्डमा आएको बललाई पेलग्रिनीले जाली चुमाए।

गत सिजन युरोपा कन्फ्रेन्स लिग जितेको रोमा युरोपा लिगको सेमिफाइनल पुग्दा जोेसे मौउरिन्हो स्वाभाविक रुपमा दंग देखिए। ‘कतिपयलाई आज रोमाले राम्रो खेलेन भन्ने लाग्ला। तर मेरा विचारमा हामीले असाध्यै परिपक्व प्रदर्शन गर्‍यौँ। यो एकदम अप्ठ्यारो खेल थियो,’ मौउरिन्होले भने, ‘नतिजा हाम्रो पक्षमा नआएको भए पनि समर्थक खेलाडीको महेनतका कारण खुसी नै हुन्थे होला। हाम्रो टिमका सीमितता छन्। तर त्यसलाई हाम्रो एकताले छायामा पारिदिन्छ। रोमा एउटा परिवार हो।’

मौउरिन्हाले अ्रबाहाम र डिबालालाई बेन्चमा राखेका थिए। उनीहरूको सट्टामा आन्द्रे बेलोट्टीलाई अग्रपंक्तिमा अवसर दिइएको थियो। पहिलो लेगमा सामान्य चोट भोगेका कारण उनीहरूलाई पहिलो हाफमा आराम गर्न दिइएको थियो। तर दोस्रो हाफमा भने मौउरिन्होले दुवैलाई मैदान छिराए। त्यही निर्णय खेल जित्नका लागि निर्णायक साबित भयो।

रोमाले अब सेमिफाइनलमा बायर्न लेभकरकुजनको सामना गर्नेछ। जर्मनीको लेभरकुजनले बेल्जियमको युनियन सेन्ट गिलोइजलाई क्वार्टरफाइनल दोस्रो लेगमा ४-१ ले पन्छाएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

दुई दशकपछि युरोपेली क्लब फुटबलको सेमिफाइनलमा पुगेको लेभरकुजन गिलोइजमाथि समग्रमा ५-२ ले हाबी भयो। पहिलो पटक युरोपा खेलेको बेल्जियन क्लबलाई पाखा लगाउन लेभरकुजनका मौसा डियाबी, मिचेल बाक्केर, जेरेमी फ्रिम्पोङ र र एडामा ह्लोजेकले एक-एक गोल गरे। गिलोइजका लागि कास्पर ट्रेहाेले एक गोल फर्काए।

‘यो जितको मुख्य कारण खेलाडीहरुको बलियो मानसिकता हो। हो, पहिलो हाफको दोस्रो मिनेटमै गोल भएपछि हामीलाई सजिलो भयो। तर समग्र प्रदर्शन नै तारिफयोग्य थियो। अब हामी फाइनलनजिक पुगेका छौँ। तर यतिबेला म फाइनल होइन सेमिफाइनलमा केन्द्रित हुन चाहन्छु,’ अलन्सोले भनेका छन्।

गत अक्टोबरमा प्रशिक्षक बनेका जाबी अलन्सोको नेतृत्वमा लेभरकुजनको प्रदर्शनमा व्यापक सुधार आएको छ। अलोन्सोेले प्रशिक्षण सम्हाल्नुअघि लेभरकुजन १८ टिम सम्मिलित बुन्डेसलिगाको १७ औँ स्थानमा थियो। लेभरकुजन अहिले छैटौँ स्थानमा छ।

उता युभेन्टस पनि युरोपा सेमिफाइनलमा पुगेको छ। इटालीको सर्वोच्च खेलकुद अदालतले युभेन्टसबाट खोसिएको १५ अंक फिर्ता गर्न आदेश दिएकै दिन इटालेली क्लबले स्र्पोटिङ लिस्बनलाई समग्रमा २-१ ले पन्छाएको हो।

पहिलो लेगमा स्पोर्टिङलाई १-० ले हराएको युभेन्टसले दोस्रो लेगमा १-१ को बराबरी खेल्यो। स्पोर्टिङको मैदानमा पहिलो गोल युभेन्टसले पहिलो गोल गरेको थियो। आड्रियान राबियाटले नवौँ मिनेटमा गोल गरेका थिए। त्यसको ११ मिनेटपछि नै स्पोर्टिङले गोल फर्काएको थियो। स्पोर्टिङलाई खेलमा फर्काउन मार्कस एड्वार्ड्सले पेनाल्टीमा गोल गरे।

युरोपा सेमिफाइनलमा दुई इटालेली क्लबले स्थान पक्का गरेसँगै युरोपेली उपाधि इटालीमा प्रवेश गर्ने सम्भावना बढेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलमा यसअघि नै इन्टर मिलान र एसी मिलानले ठाउँ बनाइसकेका छन्। इन्टर र मिलान सेमिफाइनलमा भिड्ने हुँदा एक इटालेली क्लब फाइनलमा पुग्ने पक्का छ।

युरोपा सेमिफाइनलमा भने दुई इटालेली क्लब एकआपसमा भिड्ने छैनन्। यसकारण दुई इटालेली क्लब उपाधिका लागि भिड्ने सम्भावना जीवितै छ। सेमिफाइनलमा युभेन्टसले सेभिया र रोमाले लेभरकुजनको सामना गर्ने तालिका छ।

प्रकाशित: ८ वैशाख २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =