ओल्ड ट्राफोर्डमा सेभियाको नपत्याउँदो पुनरागमन, युभेन्टसको जित र रोमाको हार

हिमाल प्रेस १ वैशाख २०८० ८:४९
8
SHARES
ओल्ड ट्राफोर्डमा सेभियाको नपत्याउँदो पुनरागमन, युभेन्टसको जित र रोमाको हार

काठमाडौँ- म्यानचेस्टर युनाइटेडलाई सेभियाले युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा २-२ को बराबरीमा रोकेको छ। ओल्ड ट्राफोर्डमा बिहीबार राति युनाइटेडले दुई आत्मघाती गोल गरेपछि सेभिया एक अंक बोकेर घर फर्कन पायो।

अस्ट्रियाका मार्सल साबिट्जरले पहिलो हाफमा दुई गोल गरेपछि युनाइटेड सहज स्थितिमा थियो। तर दोस्रो हाफको ८४ र आतिरिक्त समयमा युनाइटेडका रक्षकद्वय टायरल मालासिया र ह्यारी मग्वायरले आत्मघाती गोल गर्दा युनाइटेडको सेमिफाइनल पुग्ने लक्ष्यमा सुरुवात धक्का लाग्यो।

क्वार्टरफाइनलका अन्य खेलमा युभेन्टस र फियोनार्ड विजयी भए हुँदा बायर्न लेभरकुजनलाई पाहुना टिम युनियन सेन्ट गिलोइसले १-१ को बराबरीमा रोक्यो।

युरोपेली क्लब फुटबलमा दोस्रो श्रेणीको प्रतियोगिता युरोपा उपाधिको दाबेदार हो, युनाइटेड। अन्तिम १६ मा प्रवेश पाउन बार्सिलोनालाई पराजित गरेर युनाइटेडले यसको छनक पनि दिइसकेको छ।

सेभियालाई सजिलै पराजित गरेर सेमिफाइनलनजिक पुग्ने युनाइटेडको लक्ष्य साबिट्जरले बलियो बनाएका थिए। उनले १४ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको क्रस र २१ औँ मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरे।

तर दोस्रो हाफको उत्तर्राद्धमा सेभियाले नपत्याउँदो पुनरागमन गर्‍यो। जेसुस नाभासले गरेको प्रहार मालासियासँग ठोक्किएर गोलमा परिणत भएको थियो। सेभियाको दोस्रो गोल पनि डिफ्लेक्सनकै कारण भयो। युसुफ इन नेस्रीको होडर युनाइटेडका कप्तान मग्वायरलाई लागेर पोस्टमा छिरेको थियो।

हारसँगै युनाइटेडले सामाना गर्नु परेको अर्को पीडा थियो, खेलाडीको चोट। युनाइटेडका मुख्य दुई रक्षक राफाएल भारान र लिसान्द्रो मार्टिनेज घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए।

‘हामीले दुई आत्मघाती गोल खायौँ, सायद भाग्य हाम्रो साथमा थिएन। यो नतिजा र परिस्थितिसँग हामी लड्नु नै छ,’ खेलपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हागले भने, ‘दुई गोलको अग्रता लिँदा पनि जित्न नसक्नु हाम्रो कमजोरी हो। यसलाई सच्याउनु पर्छ। उसो त हामी सेमिफाइनल समीकरणबाट बाहिरिइसकेका छैनौँ। अझ अवसर छ।’

युनाइटेड र सेभियाबीचको विजेताले सेमिफाइनलमा युभेन्टस र स्पोर्टिङ लिस्बनमध्ये एकको सामना गर्नेछ। युभेन्टसले पोर्चुगाली विपक्षीलाई घरेलु मैदानमा १-० ले पन्छायो। युभेन्टसलाई जित दिलाउन फेडेरिको गाटीले ७३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

युभेन्टस पहिलो हाफमै गोलरक्षक परिवर्तन बाध्य भएको थियो। पहिलो रोजाइका गोलरक्षक वाजियक सेज्नीले छाती दुखेको बताएपछि उनलाई माटिया पेरिनले ४४ औँ मिनेटमा प्रतिस्थापन गरेका थिए। सेज्नीलाई प्रतिस्थापन गरेको पेरिनले दोस्रो हाफमा स्पोर्टिङका केही शक्तिशाली प्रहार रोकेका थिए।

अचानक श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि आफू मैदानबाहिर आएको सेज्नीको भनाइ थियो। ‘एक्कासी सास फेर्न गाह्रो भएपछि मलाई डर लाग्न थाल्यो। त्यसकारण खेलिरहन सकिनँ,’ खेलपछि सेज्नीले भने। युभेन्टसले सेज्नीको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको र उनमा केही समस्या नदेखिएको बताएको छ।

डच लिगको शीर्षस्थानमा रहेको फियोनार्डले घरेलु मैदानमा एएस रोमालाई १-० ले पराजित गर्‍यो। जोसे मौउरिन्हो नेतृत्वको रोमाले पहिलो हाफमा पेनाल्टी खेर फालेको थियो। लोरेन्जो पेलेग्रिनी ४३ औँ मिनेटमा पेनाल्टीमा चुकेका थिए। रोमा थप निराश त्यतिबेला बन्यो, जब माट्स वेएफेरले ५३ औँ मिनेटमा गोल गर्दै फियोनार्डलाई अघि बढाए।

लेभरकुजन बेय ऐरिनामा ५१ औँ मिनेटमा पछि परेको थियो। बेल्जियमको युनियनले भिक्टर ओकोह बोनिफेसले गोलमा अग्रता लिएको थियो। जाबी अलोन्सोको प्रशिक्षणमा खेलिरहेको लेभरकुजन ८२ औ मिनेटमा खेलमा फर्कियो। जर्मन क्लबलाई हारबाट जोगाउन फ्लोरियन रिट्जले इरानी फरवार्ड सरदार आज्मौनको सहयोगमा बराबरी गोल गरेका थिए।

प्रकाशित: १ वैशाख २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =