बुटवलमा मनाइयो जितगढी विजय उत्सव [किल्लाको इतिहाससहित]

विनोद परियार ७ वैशाख २०८० १८:३७
44
SHARES
बुटवलमा मनाइयो जितगढी विजय उत्सव [किल्लाको इतिहाससहित]

लुम्बिनी– नेपाल-अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक स्थल हो जितगढी किल्ला। २०८ वर्ष पहिले अंग्रेज परास्त गरेको यही ऐतिहासिक स्थलमा बुटवल उपमहानगरले बिहीबार जितगढी उत्सव मनाएको छ।

१८७२ साल वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिँह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो। अंग्रेज फौजलाई पराजित गरेर देशको सीमा र स्वाभिमान बचाएको सम्झनामा बुटवल उपमहानगरपालिकाले भव्य समारोहकाबीच जितगढी उत्सव मनाएको हो। उपमहानगरले जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरेको छ।

उत्सव समरोहमा लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री भोज श्रेष्ठले जितगढी किल्लाको संरक्षण गर्दै गौरव क्षेत्रका रूपमा विश्वलाई चिनाउनुपर्ने बताए। उनले बुटवलसँग भएको विजयको प्रतीक जितगढीलाई अन्तर्तराष्ट्रियस्तरसम्म प्रचारप्रसार हुन नसकेकाले अब सकै मिलेर यसको ऐतिहासिकता उजागर गर्नुपर्ने बताए।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले उपमहानगरले जितगढीलाई विशेष महत्त्वका साथ नेपालको गौरवमय स्थानका रूपमा विकास गर्ने बताउँदै उपमहानगरले प्रत्येक वर्ष वैशाख ७ गते जितगढी उत्सवका रूपमा मनाउने जानकारी दिए।

कार्यक्रममा नेपाली सेनाका मध्यपश्चिम प्रितनापति याम ढकालले जितगढी नेपालीहरूको स्वाभिमान र विजयको प्रतीक भएको बताए। उनले तत्तकालीन समयमा सेना र नागरिक मिलेर अंग्रेज हराएको विरासत जितगढीबाट सिक्नुपर्ने उल्लेख गरे।

यस्तै बुटवलका पूर्वमेयर शिवराज सुबेदी, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेय, इतिहासका ज्ञाता निर्मल श्रेष्ठ, पत्रकार महासंघका रूपन्देही अध्यक्ष रामराज पोख्रेलले बोल्दै जितगढी किल्लालाई युद्धपर्यटनको रूपमा विकास गर्न सुझाव दिएका थिए। विजय उत्सवका अवसरमा नेपाली सेनाले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै कवाज र झाँकी प्रदर्शन गरेको थियो।

यस्तो छ किल्लाको इतिहास

१८७१ देखि १८७२सम्म नेपाल-अंग्रेजकाबीचमा युद्ध भएको थियो। त्यतिखेर अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेका थिएनन। कुमाउ-गडवाल (नाहान), मकवानपुरगढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो।

तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुनहुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा-बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो। युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो।

जनरल उडकै नेतृत्वमा ३ महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाइँंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे। अंग्रेजतर्फ ठूलो क्षति भयो।

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिँह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्‍यो। युद्धमा विजय हासिल गरेपछि उजिरसिँहले पाल्पामा विजयोत्सव मनाएका थिए।

२ सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ। जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ।

भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ। नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित ३ पटक मन्दिर घुमाइन्छ। दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ। रथलाई ३ पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगर परिक्रमा गराइन्छ।

रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिँहको सम्झनामा पूजा दिने चलन छ। केही वर्षअघिसम्म भग्नाअवशेषका रूपमा रहेको जितगढी किल्ला अहिले निर्माणधिन छ।

०७४ सालको निर्वाचनपछि स्थानीय सरकारमा आएका जनप्रतिनिधिहरूले जितगढी किल्लाको संरक्षणका काम सुरु भएको थियो। अहिले किल्लाभित्र पुरातात्त्विक वस्तुको संरक्षण गर्दै किल्लाको ऐतिहासिक झल्को दिने गरी संरचना बनाइएको छ।

५ सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्बाइ २ सय ५ फिट छ र चौडाइ करिब ५५ फिट रहेको छ। गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ। गढीकोभित्री भागबाट पर्खालको चौडाइ ४ फुट ३ इन्च र १० इन्च चौडाइ रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीकोभित्री भाग खुला रहेको छ।

पुरातात्त्विक र ऐतिहासिक महत्त्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ। ०५२ सालमा पुरात्त्व विभागले देशभरका गढीहरू संरक्षण गर्ने क्रममा गढीको पर्खालबीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो। उजिर सिंहको समयअघि देखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन।

आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरात्त्व विभागले २पटक उत्खनन् गरेको थियो। उत्खनन्का क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन्। यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरात्त्व विभागबाट उत्खनन् गराएको थियो।

प्रकाशित: ७ वैशाख २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =