उपेन्द्र‍लाई भोट माग्दै प्रचण्डले भने : नागरिकताको समस्या अब छिट्टै समाधान हुन्छ

हिमाल प्रेस ७ वैशाख २०८० १६:१४
8
SHARES
उपेन्द्र‍लाई भोट माग्दै प्रचण्डले भने : नागरिकताको समस्या अब छिट्टै समाधान हुन्छ

काठमाडौँ- बारा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

उपेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार बारा पुगेका उनले अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकमा अड्चन नल्याउने दाबी गरे। उनले सदनले विधेयक पारित गरेपछि अघिल्लो राष्ट्रपतिले रोकेको तर, अहिलेका राष्ट्रपति रोक्ने होइन फुकाउने राष्ट्रपति भएको उल्लेख गरे।

‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन फुकाउने राष्ट्रपति आउनुभएको छ। फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उपेन्द्र यादव देश र मधेशको आन्दोलनको नेता हुनुको नाताले संविधान र देशको रक्षा तथा जनताको अधिकारका लागि आन्दोलनलाई थप अघि बढाउन संसद्मा अनिवार्य व्यक्तित्व भएको प्रचण्डको भनाइ थियो। उपेन्द्रलाई जिताउन भन्दै प्रचण्डले बाराको निजगढ विमानस्थल बनाइदिने, विद्युतीय सिंचाइ व्यवस्थापन गरिदिने, गढिमाईलाई पर्यटकीय क्षेत्र बनाउन विकास कोषको स्थापना गर्ने, कोभिडले बन्द भएको भन्सार खोल्नेलगायतका सपना बाँडेका छन्।

‘शेरबहादुर जी प्रधानमन्त्री हुँदा निजगढ विमानस्थल बन्छ बन्दैन भनेर अनुगमन गर्न आएका थियौं। अब छिट्टै शिलन्यासको लेबलमा पुराइनेछ र निर्माण प्रकिृया अघि बढाइनेछ। यो विश्वास दिलाउँछौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गढीमाईलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय ठाउँको विकास गर्न गढिमाइ विकास कोष बनाउन हामी अघि बढ्नेछौँ। भन्सार खुल्ला गर्ने बारे आवाज उठ्यो भन्सार खोल्ने पहल सुरु गर्नेछु। कृर्षी मल विउँको सिचाईंको समस्या समाधन गर्नेछु। अब विद्युतिय सिचाईं प्रणाली अब अघि बढ्छ। यसमार्फत सिचाईं समस्या हुन्छ ।यसले विकासको नयाँ लहर सृष्टी हुनेछ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको भागमा पारेको उपराष्ट्रपति पद जसपालाई दिएर रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्रलाई बारामा चुनाव लड्न आफूले पठाएको दाबी गरे।

‘उपेन्द्र यादव जस्तो राष्ट्रिय नेता बारामा जिल्लाको क्षेत्र नम्बर २ मा आउने वातावरण बनाउन पाएको गर्व महसुस भएको छ। तपाईंहरू भाग्यमानी हुनुहुन्छ उपेन्द्र यादव मात्रै जित्ने छैन पाँच दलीय गठबनधन संविधान र राष्ट्रिय एकता मधेश र पहाडको एकताले जितेर राष्ट्रिय बलियो बन्नेछ,’ उनले भने।

प्रकाशित: ७ वैशाख २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =