बारा-२ : कांग्रेस कार्यकर्ताले किन हाल्ने उपेन्द्रलाई भोट?

हिमाल प्रेस ६ वैशाख २०८० १८:३४
52
SHARES
बारा-२ : कांग्रेस कार्यकर्ताले किन हाल्ने उपेन्द्रलाई भोट? बारा-२ का मतदातासँग उपेन्द्र यादव।

काठमाडौँ– मंसिर ४ को निर्वाचनमा सप्तरी-२ पराजित उम्मेदवार हुन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव। ६ महिनामै उनी फेरि उम्मेदवार बनेका छन्। वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी सप्तरीबाट होइन बारा-२ बाट चुनावी मैदानमा उत्रिएका हुन्।

उपनिर्वाचनमा विजयी भएर संघीय संसद्‌मा प्रवेश गर्ने दाउ उनको छ। सोही कारण यादव आफू नजिकका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन लड्न पुगेका छन्। यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। त्यसैले उनको प्रतिस्पर्धा एमाले र रास्वपाका उम्मेदवारसँग हुने दाबी जसपाका नेताहरूको छ। तर सत्ता गठबन्धनकै अर्को दल जनमत पार्टीले आफ्नै उम्मेदवार उठाएपछि यादवलाई सहज नभएको स्थानीय मतदाता बताउँछन्।

६ महिनाअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो (१८ हजार बढी) मतान्तरले पराजित यादव बारामा पनि आफ्नो जितप्रति ढुक्क हुने अवस्था छैन। यादवलाई यहाँ पनि उनै राउतको दल चुनौती बनेको छ। जनताको घरदैलोमा राउत आफैँ भोट माग्न पुगेपछि उपेन्द्र पनि कस्सिएर लागेका छन्।

उपेन्द्रको मुख्य चुनौतीका रूपमा खडा भएका एक उम्मेदवार हुन् जनमतका शिवचन्द्र कुशवाहा। उनी उपनिर्वाचनमा माओवादी केन्द्रले टिकट नदिने स्पष्ट भइसकेपछि जनमत पार्टी प्रवेश गरेर टिकट लिएका व्यक्ति हुन्।

मंसिरको निर्वाचनमा कुशवाहा जसपाका रामसहायप्रसाद यादवसँग झिनो मतान्तरले पराजित भएका थिए। उनै कुशवाहालाई हराएर आएका यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो।
यादवले १३ हजार ८२२ मत ल्याउँदा कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए। कुशवाहा गठबन्धनको साझा उम्मेदवार थिए। उनी ३५४ मतले पराजित भएका थिए। मंसिरको निर्वाचनमा समानुपातिकतर्फ पनि यस क्षेत्रबाट सबैभन्दा धेरै मत जसपाले ल्याएको थियो।

गत निर्वाचनमा बारा २ बाट ११ हजार भन्दा धेरै मत ल्याउने स्वतन्त्र उम्मेदवार रामकिशोर यादव (अहिले जसपाका केन्द्रीय सदस्य) र १० हजारभन्दा धेरै मत ल्याउने अर्का स्वतन्त्र उम्मेदवार (कांग्रेस महासमिति सदस्य) रवीन्द्रप्रसाद यादवले पनि उपनिर्वाचनमा उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्। तर उनीहरूले समर्थन गर्दैमा सबै भोट उपेन्द्रलाई नै जाने टुंगो नभएको जसपाकै नेताहरू बताउँछन्।

‘यहाँ कांग्रेसको राम्रो मत छ। कांग्रेसबाटै उम्मेदवार बन्ने हैसियत बनाएका नेताहरू यहाँ छन् नि,’ नेपाली कांग्रेस बाराका एक पदाधिकारीले भने, ‘उपेन्द्र यादवलाई अब सप्तरीमा सीके राउतले सधैँ सताउने देखियो। त्यही भएर अहिले बारा रोजे। कांग्रेसले पनि केन्द्रमा उनलाई समर्थन गर्ने निर्णय गरिदियो। तर सबै कांग्रेसीले उनलाई किन भोट हाल्ने? भोट अर्कालाई दिएर अर्कैको संगठन किन बलियो हुन दिने?’

बारा-२ मा ३६ जनाले उम्मेदवारी दर्ता गरे पनि ३४ जना चुनावी मैदानमा छन्। यीमध्ये अधिकांश ठूला उम्मेदवारका ‘डमी’ उम्मेदवार हुन्। अर्काको भोट काटेर आफूलाई सहज होस् भनेर यस्तो रणनीति अपनाएको आरोप स्थानीय नेताहरूले लगाउँदै आएका छन्।

बारा-२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवाली र नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
उपेन्द्रलाई आरोप लाग्ने गरेको छ- उनी सधैँ सत्तामा रहन चाहने व्यक्ति हुन्। फेरि व्यवहार पनि त्यस्तै देखिन्छ। उनी चुनाव हारेको ६ महिनामै त्यो पनि जिल्ला फेरेर निर्वाचनमा होमिएका छन्। उनलाई विपक्षीहरूले यही आरोप लगाउँदै आफ्नो पक्षमा भोट मागिरहेका छन्।

यस क्षेत्रमा नेताहरूले जातीय राजनीतिलाई एजेन्डा बनाउँदै आएका छन्। यो निर्वाचन क्षेत्रको धेरै जसो भाग यादव समुदायको छ। तर यहाँ यादव र गैरयादवबीच पनि तालमेल हुने गरेका घटना धेरै छन्।
पुराना माओवादी नेतासमेत भएकाले कुशवाहा आफूलाई माओवादीका नेताकार्यकर्ताको पनि साथ रहने र यादवलाई चुनाव हराउने दाबी गर्छन्। त्यसो त यहाँ माओवादीको आफ्नै उम्मेदवार पनि छैनन्।

‘१५ वर्षदेखि संसद्‌ र सरकारमा भएर उपेन्द्र यादवले के गरे? आफैँ बन्नुबाहेक मधेश र देश बनाउन उपेन्द्रले के भूमिका खेले?,’ कुशवाहाले भने, ‘सप्तरीमा चुनाव हारेर टुरिस्ट बनेर बारामा उम्मेदवार बन्न आएकालाई यहाँका जनताले किन भोट दिने? आफ्नै निर्वाचन क्षेत्रमा केही नगरेको मान्छेले बारामा काम गर्छ भनेर पत्याइदिनुपर्ने?’

उपेन्द्रविरुद्ध यहाँ गौर हत्याकाण्डमा उपेन्द्रको भूमिका रहेको भन्दै सीके राउतको जनमत पार्टीका नेता कार्यकर्ताले यादवलाई भोट हाल्न नहुने अभियान चलाएका छन्।

मंसिरको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै जसपाले १३ हजार २ सय ४२ मत ल्याएको थियो। जनमतले भने ८ हजार ८ सय ४६ मत पाएको थियो। कांग्रेसले ११ हजार १ सय ७९, एमालेले ९ हजार १ सय ९३, लोसपाले ४ हजार २ सय ३५, नागरिक उन्मुक्तिले ३ हजार ७ सय ९४, माओवादी केन्द्रले ३ हजार २ सय ६५, एकीकृत समाजवादीले १ हजार ९९६ र रास्वपा १ हजार ४५५ मत ल्याएको थियो।

प्रकाशित: ६ वैशाख २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =