सुडानमा मृतकको संख्या दुई सय पुग्यो, झण्डै दुई हजार घाइते

हिमाल प्रेस ५ वैशाख २०८० १७:५९
4
SHARES
सुडानमा मृतकको संख्या दुई सय पुग्यो, झण्डै दुई हजार घाइते

खार्तुम- सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी भिडन्तमा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। मंगलबारसम्म झण्डै दुई हजार घाइते भएका छन्।
सुडानको विद्रोही समूह अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा दुई सय जनाको मृत्यु भएको र १ हजार ८ सय जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल आरएसएफबीचको जारी भिडन्तले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ।

भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्। सहायता तथा उद्धारको काममा अवरोध उत्पन्न भएको छ। अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले लिएको उग्ररूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो।

सुडानमा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।

सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। युद्धविरामका लागि क्षेत्रीय एवम् विश्वव्यापीरूपमा आह्वान भए पनि सम्बद्ध पक्षले वेवास्ता गरेका छन्। विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाई भएको छैन।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले द्वन्द्वरत दुवै पक्षका सेना प्रमुखसँग मंगलबार टेलिफोन गरेर तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्। साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरे।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससहित बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले खार्तुमबाट अमेरिकी कर्मचारीलाई उद्धार गर्ने कुनै योजना नरहेको बताएका छन्। हाल खार्तुम विमानस्थल बन्द छ भने सुरक्षा चासो बढेको छ। सोमबार खार्तुमको मुख्य विमानस्थलमाथि धुवाँको मुस्लो देखिएको थियो भने टेलिभिजनमा आगो र विष्फोटका दृश्य प्रसारण गरिएका थिए। रासस/एएफपी

प्रकाशित: ५ वैशाख २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =