पोखराका अभिषेक ‘आईटीएफ र्‍यांकिङ’काे १७९० मा

हिमाल प्रेस ५ वैशाख २०८० १६:४०
6
SHARES
पोखराका अभिषेक ‘आईटीएफ र्‍यांकिङ’काे १७९० मा

पोखरा- पोखराका २५ वर्षीय अभिषेक बास्तोला इन्टरनेसनल टेनिस फेडरेसन (आईटीएफ) र्‍यांकिङमा १७९० मा पर्न सफल भएका छन्। यो सफलता नेपाली टेनिस खेलाडीले पाएको अहिलेसम्मकै ठूलो हो। उनी सानैदेखि टेनिसमा रुची राख्थे।

१७ वर्ष अघि ८ वर्षको उमेरमा उनी बुवासँग पोखरास्थित पस्र्याङ टेनिस कोर्ट गएर टेनिस खेल्थे। सानै उमेरमा टेनिसमा बसेको उनको त्यो मोहकै कारण अहिले राष्ट्रको लागि गौरव गर्न लायक बनेको छ। उनी अमेरिकामा आयोजित कलेजस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो एनसिएएको डिभिजन १ मा सहभागी भई माथिल्लोस्तरका टेनिस प्रतियोगिताका लागि छनोट पनि भएका छन्।

१३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका उनले १४ राष्ट्रमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी भइसकेका छन्। ‘टेनिस मेरा लागि जीवन हो। मलाई लाग्छ, यसैका लागि म जन्मिएँ,’ पोखरामा मंगलबार संचारकर्मीहरूसँग उनले सफलताको कथा सुनाउँदै भने, ‘मैले ८ वर्षकै उमेरबाट टेनिस खेल्न सुरु गरेको हुँ। बुवालाई जिद्धि गरेर आफूले टेनिस खेल्नका लागि टेनिस कोर्टसम्म पुर्‍याउँथे।’

टेनिसमा अहिलेको सफलता हासिल गर्नुको पछाडि थुप्रै चुनौती झेलेको उनको भनाइ छ। ‘चुनौती जित्नका लागि शारीरिक, मानसिक एवं प्राविधिक रूपमा प्रशिक्षित हुन जरुरी छ,’ उनी भन्छन्, ‘यहाँ पुग्न सही व्यक्तिको सहयोगको खाँचो पर्छ।’

टेनिसबाट थुप्रै खेलाडीले व्यावसायिक रूपमा सफलता हासिल गरेको उल्लेख गर्दै अभिषेकले भने, ‘म पनि मेरो देश र नेपाली बालबालिकाहरूलाई यो खेल खेल्न प्रेरित गर्दछु।’

उनले आईटीएफको १ हजार ¥यांकिङभित्र पर्ने लक्ष्य राखेका छन्। त्यसपछि क्रमशः सो ¥यांकिङमा ५ सय भित्रै पर्ने उनको लक्ष्य छ। साथै भविष्यमा एसोसिएसन अफ टेनिस प्रोफेसनल (एटीपी)को र्‍यांकिङमा पर्ने, अमेरिकाद्वारा आयोजित खुला टेनिस प्रतियोगिता, एसिएन गेम्स तथा ओलम्पिक सहभागितासँगै मेडल जित्ने उनको लक्ष्य रहेको उनले सुनाए।

अभिषेकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २०११ देखि सहभागिता सुरु गरेका हुन्। म्यानमारको यांगुनमा भएको ग्रूप टु यु–१४ वल्र्ड जुनियरबाट उनले आफ्नो अनरर्तष्ट्रिय प्रतियोगिता सुरु गरेका हुन्।

त्यसको अर्को वर्ष उनी कक्षा ९ पढ्न थाइल्याण्ड गए। त्यसपछि अमेरिकामा छात्रवृत्तिमा पढ्न गए। त्यहाँ उनले नियमित टेनिस खेले। उनीसँग सन् २०१३ मा चीनमा अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन जुनियर सर्किटमा भाग लिएको अनुभव छ। त्यस्तै सन् २०१४ मा चीनमै सेकेण्ड एसियन युथ गेम्स, कोरियाको इन्चोकमा १७औँ एसियन गेम्स्, भारतको गुवाहटीमा १२औँ साउथ एसियन गेम्स्, इन्डोनेसियाको जाकार्तामा सन् २०१८ मा १८औँ एसियन गेम्स् खेलेको अनुभव छ।

सन् २०२० मा क्यालिफोर्नियाको सेन्ट मेरिज कलेजबाट स्नातक पूरा गरेका छन्। उनलाई अझै माथि उक्लिन वातावरण तथा आर्थिक सहयोगको पनि खाँचो छ। राष्ट्रिय ब्याडमिन्टनका पूर्वखेलाडी समेत रहेका बाबु अनुज बास्तोलाले यस क्षेत्रमा राज्यको संलग्नता नरहेकाले राज्यले पजि सहयोग गर्नुपर्ने बताए।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले उनमा सानोमै देखिएको खेलप्रतिको हुटहुटीको स्मरण गरे। ‘यो सफलता सिंगो नेपालको टेनिस र मुलुककै गर्वको विषय हो,’ उनले भने।

प्रकाशित: ५ वैशाख २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =