आर्थिक परिसूचकमा सुधार आएको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ४ वैशाख २०८० २०:५९
2
SHARE
आर्थिक परिसूचकमा सुधार आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्।

उद्योग-वाणिज्य प्रवर्द्धन संवाद परिषद्को सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले अझै पनि चुनौतीपूर्ण परिस्थिति रहे पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन्।

‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ,’ उनले भने, ‘वित्तीय तरलताको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटनलगायत क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्न थालेको छ।’

सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका विषयलाई महत्त्व दिइएको उनको भनाइ थियो।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीलाई आग्रह गरे।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता थियो। रासस

प्रकाशित: ४ वैशाख २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =