ट्युनिसियामा एक फुटबलरले गरे आत्मदाह

हिमाल प्रेस २ वैशाख २०८० १४:४२
10
SHARES
ट्युनिसियामा एक फुटबलरले गरे आत्मदाह

काठमाडौँ- ट्युनिसियाका एक फुटबल खेलाडीले आत्मदाह गरेका छन्। स्थानीय प्रहरीले आफूलाई आतंककारीको आरोप लगाएको विरोधमा ३५ वर्षीय निजार इसाओनीले आत्मदाह गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

ट्युनिसियाको विभिन्न क्लबहरूबाट खेलेका इसाओनी स्थानीय बजारमा केराको मूल्य महँगो भएको भन्दै उजुरीका लागि प्रहरी चौकी पुगेका थिए। एक केजीको केराको मूल्य १० दिनार (३.३ अमेरिकी डलर) मागिएपछि उनी प्रहरी चौकी पुगेकाे तर उनीसँग उल्टै दुर्व्यवहार गरिएको थियो। उनलाई प्रहरी अधिकृतले आतंककारीको आरोप लगाएका थिए।

ट्युनिसियाको हाफौज भन्ने सहरमा यो घटना भएको हो। इसाओनीले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियोमा पोस्ट गर्दै केराको मूल्य महँगो भएको उजुरी गर्दा आफूलाई आतंककारी भनिएको बताएका थिए। यो भिडियो हाल ट्युनिसियाभर ‘भाइरल’ बनेको छ।

‘मसँग अब अरु विरोध गर्ने ऊर्जा छैन। प्रहरीले चलाएको यो राज्यले जानोस्, मलाई दिइएको सजाय म आफैँ कार्यन्वयन गर्दैछु,’ भिडियोमा इसाओनीले भनेका थिए।

इसाओनीको परिवारका अनुसार उनको शुक्रबार मृत्यु भएको हो। इसाओनीको मृत्युको खबर बाहिरिएसँगै ठूलो संख्यामा स्थानीय नागरिकले प्रहरी चौकी घेराउ गरेको खबर रोयटर्समा छ। ट्युनिसियाका स्थानीय सञ्चारमाध्यमहरूलाई उदृत गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) को अखबार गल्फ टुडेले इसाओनीको मृत्युको विरोधमा लगातार प्रदर्शन गरिरहेका युवाहरूले प्रहरी चौकीमा ढुंगामुढा गरिरहेको लेखेको छ।

ट्युनिसिया त्यही देश हो, जहाँ एक सडक व्यापारीले आत्मदाह गर्दा आन्दोलन सुरु भएको थियो। डिसेम्बर १७, २०१० मा घटेको त्यो घटना, त्यसपछि सुरु आन्दोलनले ट्युनिसिया मात्र होइन अरब क्षेत्रका अन्य देशमा पनि सत्ता परिवर्तन गरिदिएको थियो।

त्यसबेला ट्युनिसियाका तत्कालिन राष्ट्रपति जाइन एल अबिदिनको सरकार त ढल्यो नै, आन्दोलनको डढेँलोले अल्जेरिया, लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनलाई समेत छाडेन। फलतः ती देशमा सरकार, कानुन, अधिकार आदि परिवर्तन भएका थिए।

प्रकाशित: २ वैशाख २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =