नेतृत्व क्षमता गुमाएका माधव नेपाल

किरण पौडेल २८ चैत २०७९ १४:४९
142
SHARES
नेतृत्व क्षमता गुमाएका माधव नेपाल माधव नेपाल र नेकपा (एस) छाडेका नेताहरू बायाँबाट क्रमशः केदार न्याैपाने, चुडामणि जंगली र मुकुन्द न्याैपाने।

काठमाडौँ- केही दिनअघि नेकपा एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता मुकुन्द न्यौपानेले पार्टी छाडे। उनले पार्टीप्रति विभिन्न आरोप लगाउँदै बाहिरिन बाध्य भएको बताएका छन्।

पार्टी नेतृत्वसँग न्यौपानेको तिक्तता बढेको बढेको थियो। विवादको बिजचाहिँ न्यौपानेले नेकपा एमालेसँग मिल्नुपर्ने अडान राख्नु हो। उनको उक्त अडानमा विमति जनाउँदै नेतृत्वले स्पष्टीकरण सोधेको थियो। त्यसको जबाफ दिएर उनी पार्टीबाट अलग भएका छन्।

न्यौपानेमाथि पार्टी नेतृत्वले मंसिर ४ को निर्वाचनमा ‘आफ्नै पार्टीलाई मत नहालेको’ आरोप लगाएको थियो। न्यौपानेले भने निराधार आरोप लगाएको भन्दै अध्यक्ष माधवकुमार नेपालमाथि प्रश्न गर्दै आएका थिए। पार्टी नीतिविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै न्यौपाने आलोचित थिए।

अन्ततः मजदुर पृष्ठभूमिबाट उदाएर कम्युनिस्ट राजनीतिमा विशेष पहिचान बनाएका यी नेता एकीकृत समाजवादीमा अट्न सकेनन्। ‘अगाडि नबढ्ने पार्टीमा बस्नुभन्दा स्वतन्त्र नागरिक बन्नु नै ठीक’ भन्दै उनले पार्टी छाडेको घोषणा गरेका छन्।

२०७८ भदौ २ गते स्थापना भएको समाजवादीबाट अलग हुने न्यौपाने पहिलो नेता भने होइनन्। यसअघि केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने र नेता स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पार्टी छाडेका थिए। उनीहरू पनि नेतृत्वले सोधेको स्पष्टीकरणको जबाफ दिँदै पार्टी परित्याग गरेका हुन्। नेतृत्वले सही ढंगले काम गरेको आरोप नेताहरूको छ।

अध्यक्षको क्षमतामाथि प्रश्न

डेढ वर्षअघि जन्मिएको समाजवादी पार्टी संगठन सुदृढीकरण नहुँदै कमजोर बन्दै गएको छ। ‘कोठे बैठक मात्र सञ्चालन हुन्छ। नयाँ पार्टी भयो तर सोच भएन,’ नेता न्यौपाने भन्छन्, ‘मन्त्री बन्न खोज्ने बिचौलियाको मात्र स्पेस छ पार्टीमा।’

एमाले नेतृत्वको आलोचना गर्ने र सत्ताप्रति नरम बन्ने गरेको आरोप पार्टी स्थापनादेखि नै लाग्दै आएको छ। पार्टीभित्र पटकपटक यस्ता प्रश्न उठ्दा नेतृत्वले जवाफ दिन सकेको नेताहरू बताउँछन्।

एमालेबाट बाहिरिँदा देखाएका सपना पूरा गर्न चुकेको र कुनै पार्टीसँग साँठगाँठ गरेको भन्दै नेतृत्व क्षमतामाथि प्रश्न उठ्दै आएको छ। एमालेबाट बाहिरिएर नयाँ सिद्धान्तसहित पार्टी अघि बढाउन नसकेको आरोप पार्टीकै कार्यकर्ताले लगाउँदै आएका छन्।

‘लिडरले समयसापेक्ष निर्णय लिन सक्नुपर्छ। त्यो हाम्रो पार्टीमा छैन,’ समाजवादीकी सचिव रामकुमारी झाँक्री भन्छिन्, ‘एमालेभन्दा भिन्न बन्नुपर्छ भन्ने थियो। तर एमाले भन्दा भिन्न त बनाउन सकिएन नै। साइज पनि झनै घट्दै गयो।’

झाँक्रीसहितका नेताहरू अहिलेकै तरिकाले पार्टी अघि बढ्न नसक्ने पक्षमा छन्। कि सही ढाँचा परिचालित हुनुपर्ने नत्र कुनै पार्टीसँग एकीकरण गर्नुपर्ने प्रस्ताव उनीहरूको छ। विशेषतः अध्यक्ष नेपालसँग नेताकार्यकर्ता असन्तुष्ट छन्।

एमाले-माओवादी गठबन्धनमा सँगै हुन नसक्नु

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० सिटमा सीमित बन्दा पनि नेतृत्वले कुनै आत्मसमीक्षा गर्न नसकेको नेताहरू बताउँछन्। यस्तै पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति बन्दा समाजवादीलाई सँगै उभ्याउन नेतृत्व चुकेको आरोप अध्यक्ष नेपालमाथि लाग्ने गरेको छ।

अध्यक्ष नेपालले सही समयमा विचार पुर्‍याउन नसक्दा तत्कालीन गठबन्धनबाट अलग हुनुपरेको नेताहरू बताउँछन्।

राष्ट्रपति चुनावमा अडान लिन नसक्नु

अध्यक्ष नेपालले निर्णय पुर्‍याउन नसक्दा मुखमै आएको राष्ट्रपति पद गुमेको नेताहरू बताउँछन्। ‘एमालेबाट नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव आएको हो। तर नेपालले सही निर्णय लिन सकेनन्,’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘नेपालले सही निर्णय लिन नसकेका कारण राष्ट्रपति गुम्यो।’ पार्टी गतिशील तवरले चलाउन नसकेको, साना विषयमा निर्णय पनि सचिवालय बैठक बोलाउने गरेको आरोप नेपालमाथि छ।

उधारो प्रधानमन्त्रीको आस

एमालेबाट राष्ट्रपति बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका अध्यक्ष नेपाल हालको सत्ता गठबन्धनले केही समयपछि प्रधानमन्त्री बनाउने आस देखाएको छ। सोही आसमा रहेर पार्टी संगठनलाई चुस्त बनाउन नसकेको आरोप नेपालमाथि छ।

गठबन्धनबीच पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा नेपाल र अन्तिम कार्यकालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको नेताहरू बताउँछन्। नेपाल प्रधानमन्त्री बन्न सहज छैन। ‘अब उहाँ (प्रधानमन्त्री) बन्न सकस छ। तर उहाँले सहमति जनाउनुभयो,’ समाजवादीका अर्का नेताले भने, ‘यही तरिकाले पार्टी चल्न सक्ने सम्भावना छैन।’

पछिल्लो समय नेपालले गठबन्धनबाट ठगिएको गुनासो गर्दै आएका छन्। सोही कारण प्रदेशमा कम्तीमा एक मुख्यमन्त्री पाउनुपर्ने दाबी उनको छ। तर त्यसमा गठबन्धन सकारात्मक नरहेको नेताहरू बताउँछन्। केन्द्रमा तीन विभागीय मन्त्रालयमा दाबी गरेको समाजवादीले दुई मन्त्रीमा चित्त बुझाएको छ।

माधव-झलनाथबीच मतभेद

पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच त्यति राम्रो सम्बन्ध छैन। केपी शर्मा ओलीको संसद् विघटनको निर्णयले उनीहरू एक भएका थिए। अहिले पनि दुई नेताबीच सुमधुर सम्बन्ध नभएको नेताहरू बताउँछन्।

मुख्य नेताबीच मनमुटाव रहेका कारण साना विषयमा निर्णय लिन पनि बैठक राख्नुपर्ने बाध्यता छ। पछिल्लो समय खनाल एमालेसँग एकता गर्नुपर्ने बताउँदै आएका छन् भने नेपाल एमालेको विरोध गर्दैछन्। खनाल माओवादी केन्द्रसँग नजिक हुन रुचाउँदैनन्। तर नेपाल भने माओवादीको साथ छाड्ने पक्षमा छैनन्।

पार्टीका बैठकमा समेत नेपालका प्रस्तावमाथि खनालले खण्डन गर्ने गरेका छन्। खनाल–नेपाल सम्बन्धमा एमसीसी परियोजनालगायतका विषयमा पनि विवाद थियो। वामदेव गौतम भित्र्याउने सन्दर्भमा पनि दुई नेतामा विवाद छ। गौतमले जबज (जनताको बहुदलीय जनवाद) राख्नुपर्ने सर्त राखेका छन्। गौतम प्रवेशको विषय बीचैमा रोकिएको छ।

भर्खरै समाजवादी छाडेका न्यौपाने त खनाल समेत ‘वरिष्ठ पद’ पाए एमालेमै फर्किने तयारीमा रहेको बताउँछन्। खनालले भने पार्टी छाड्ने संकेत गरेका छैनन्।

समाजवादीको अधोगति

तीव्र विवादपछि माधव नेपालले एमालेबाट विद्रोह गरी नयाँ पार्टी गठन गरे। त्यसबेला समाजवादीका २३ सांसद थिए। तत्कालीन सरकारमा समाजवादीले पाँच मन्त्रालय पाएको थियो।

पार्टी गठन प्रक्रिया पूरा भइनसक्दै समाजवादीले पाँच मन्त्रालयसहित दुई प्रदेशमा मुख्यमन्त्री पाएको थियो। तर मंसिरको निर्वाचनपछि समाजवादी कमजोर देखियो। गठबन्धनको सहारामा चुनावमा उत्रिएको समाजवादीले प्रतिनिधिसभातर्फ १८ सिटमा मात्र चुनाव लडेको थियो। तीमध्ये १० सिट जितेको समाजवादीले समानुपातिकतर्फ एक सिट पनि ल्याउन सकेन। समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सकेन।

नतिजामुखी कार्यक्रम नभएकाले पार्टीले सही ट्रयाक पक्रिन नसकेको समाजवादीकै नेताहरू स्वीकार्छन्। ‘पार्टी प्रशिक्षण र लोकप्रिय नेताको अभावले हाम्रो पार्टी चल्न सकेन,’ समाजवादीका एक पदाधिकारी भन्छन्, ‘हामीले एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्नै सकेनौँ।’ एमालेभन्दा फरक ढंगको पार्टी नहुनु र कार्यकर्तामा प्रशिक्षण दिन नसक्दा पार्टी कमजोर बन्दै गएको ती नेताको बुझाइ छ।

एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भएका कारण समाजवादीले कार्यकर्ता समेत टिकाउन सकेन। स्थानीय तहको निर्वाचनमा केही उपलब्धि हासिल गरे पनि त्यसपछि कार्यकर्ता टिकाउने रणनीति पार्टीले अवलम्बन गर्न नसकेको ती पदाधिकारीले बताए।

‘हामीले पार्टीको एजेन्डा नयाँ दिन सकेनौँ। सधैँ एमालेको गाली मात्र गर्दा कार्यकर्तामा नकरात्मक असर देखियो,’ नेता विरोध खतिवडा भन्छन्, ‘पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकिएन।’

घनश्याम प्रवेश : उत्साहसँगै विवाद

समाजवादीमा संकटकै बेला घनश्याम भुसालको प्रवेश भयो। भुसालको प्रवेशले पार्टी सही ट्रयाकमा हिँड्ने अपेक्षा कार्यकर्तामा थियो। तर उनको प्रवेश पनि विवादमुक्त हुन सकेन।

समाजवादीले उनलाई महासचिव बनायो। भुसाल महासचिव बनेको पार्टीमा धेरैलाई मन परेको छैन। एकीकृत समाजवादी गठन गर्दा माधव नेपाललाई धोका दिएको भन्दै समाजवादीमा भुसालको आलोचना हुने गरेको छ।

‘नवप्रवेशी व्यक्तिलाई एकाएक मुख्य पदमा पुर्‍याउनु गलत भयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘समाजवादीका नेता वञ्चित हुनुपरेको छ।’ भुसाल पार्टीको महासचिव बने पनि पार्टी गतिशील बन्न नसकेको आरोप लाग्न थालेको छ।

अब कता?

समाजवादीले अन्य पार्टीसँग एकता गर्ने प्रस्ताव पनि ल्याएको छ। बृहत् वाम एकताका लागि भन्दै कार्यदल पनि गठन भएको छ। तर एमालेले ल्याएको एकता प्रस्ताव अध्यक्ष नेपालले स्वीकार्न सकेका छैनन्।

एमालेसँग एकता नगरी वर्तमान गठबन्धनमा समाहित हुनुको कारण भने नेपालले ‘वामएकता’ का लागि भन्ने गरेका छन्। राष्ट्रपतिको चुनावमा पनि एमालेका उम्मेदवारलाई मत नहाली कांग्रेसकालाई सहयोग गरेकाले एमालेसँग पनि एकताको कुरा हराएको छ। समाजवादीले जनता समाजवादी पार्टी (जसपा) सँग पनि एकताको कुरा उठाएको थियो।

दुवै पार्टीसँग एकताका लागि वार्ता समिति बनेका थिए। तर एकता प्रक्रिया अघि बढ्न सकेन। समाजवादीले माओवादीसँग पनि एकता प्रक्रिया अघि बढाउने प्रस्ताव राखेको थियो। तर प्रक्रिया अघि बढेको छैन।
महासचिव भुसाल भने तत्काल आफूहरूले कसैसँग एकता नगर्ने बताउँछन्। उनी भन्छन्, ‘पहिले संगठन सुदृढ र सक्षम बनाउने अनि मात्रै एकताको कुरा हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =