मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिएको पुष्टि गर्न रास्वपाका सांसद झाको चुनौती

हिमाल प्रेस २७ चैत २०७९ १८:१४
14
SHARES
मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिएको पुष्टि गर्न रास्वपाका सांसद झाको चुनौती फाइल तस्बिर

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन्। पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले सो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन्।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेर देखाउन पनि चेतावनी दिए। नेपाली कांग्रेसमा आवद्धहरूले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउन चुनौती दिएका हुन्।

साथै, उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साँढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकीर गरे। ‘मैले त्यो साँढे २ करोड रुपैयाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिन। र, त्यसको कसैले प्रश्न उठाउँदैछ। मैले पनि ट्वीरमा केही कांग्रेसीजनले लेखेको। ८ करोड रुपैयाँ शिक्षामन्त्री बन्नलाई माग्यो भनेर,’ उनले भने, ‘त्यसमा म विश्वास गर्दिन। त्यो स्टाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाई भाउजुले के-के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि।’

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो आइतबार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन्। सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने कांग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबीसमेत गरे।

‘हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले? म चुनौति गर्न चाहन्छु। कति पटक हामीले सुनेका छौ नि। कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले। त्यो पार्टीहरूले। सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र?,’ झाले प्रश्न गरे।

सांसद झाले विवादमा परेपछि निलम्बनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्ध विच्छेद गरेको पनि स्पष्ट पारे। छानबिनका लागि पार्टीका सदस्यहरूलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरूले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर छानवीनको प्रक्रियालाई अघि बढाउनु परेको पनि उनले बताए।

आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने उनले दाबी गरे।

‘हिजो देखि नै हाम्रो पार्टीको सञ्चार माध्यामहरूमा, सामाजिक सञ्जालहरूमा रहेको हरेक समूहबाट उहाँलाई आउट गरिसक्यौं। कि उहाँले हामीहरू कसैसँग पनि संवाद नगरोस्। र, त्यहाँ आफ्नो स्पष्टीकरण दिने प्रयास गरेर उहाँले हामीलाई प्रभावमा पार्न नसकोस् भनेर,’ उनले भने, ‘साथै हाम्रो पार्टीको संसदीय दलको नेताले उहाँसँग कुनै पनि किसिमको संवाद नगर्न पनि किनकी हाम्रो अनुशासन समिति गठन भईसकेपछि उहाँले हामीसँग व्यक्तिगत रुपमा संसद र छलफल गर्नु राम्रो अभ्यास देखिँदैन। अर्को कुरा नेपाली राजनीतिमा यो पहिलो घटना होइन नि। हामीले अर्को टेप प्रकरण वा साउन्ड क्लिप सुनेका थियौं। त्यो व्यक्ति पछि आएर सम्माननीय समेत हुनु भयो।’

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरूले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटकपटक दोहोर्‍याए।

‘त्यही सुनेका थियौ–जो आएर माननीय पनि हुनु भयो। तर हाम्रो त हेर्नुस्न, सञ्चार माध्याममा त्यो बारेमा समाचार आउनु भन्दा अगाडि नै हामीले निलम्बन गरिसकेका थियौं। कि यो आशंका छ,’ उनले भने, ‘निलम्बन गरिएको मतलव नै हामीले तपाईहरूको वा हाम्रा मतदाताहरूको विश्वासको सम्मान गरेको हो नि। हामीले ढाकछोप गर्न कसैले पनि खोजेका छैनौं। अहिले पनि मेरो अभिमत ढाका श्रेष्ठप्रतिको समर्थन होइन। यो एउटा प्रक्रियाप्रतिको विश्वास हो।’

व्यवसायी प्रसाईसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतबार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टाभित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

प्रकाशित: २७ चैत २०७९ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =