यी हुन् काठमाडौँ उपत्यकाका महँगा १० स्कुल

हिमाल प्रेस २७ चैत २०७९ १७:२२
1.4k
SHARES
यी हुन् काठमाडौँ उपत्यकाका महँगा १० स्कुल

काठमाडौँ- शैक्षिक सत्र सकिएको छ। नयाँ शैक्षिक सत्र सुरु नहुन्जेल बालबालिका बिदामा छन्। विद्यालयका शिक्षकहरू नतिजा प्रकाशन र आगामी वर्षको योजना निर्माणमा जुटेका छन्। केही अभिभावक भने आफ्ना सन्तानलाई कुन स्कुलमा पढाउने होला भनेर खोजीमा छन्।

हुन त राजधानीका केही सरकारी स्कुलमा पनि विद्यार्थीको चाप बढ्ने गरेको छ। तर सरकारी स्कुलमा सन्तान पढाउन सरकारी सेवामा कार्यरत कर्मचारी र शिक्षक नै त्यति रुचि राख्दैनन्। अधिकांशको रोजाइ निजी र महँगा स्कुल हुन्छन्। प्रस्तुत छ- काठमाडौँ उपत्यकामा सञ्चालित केही निजी स्कुल।

१. लिंकन स्कुल

रविभवनस्थित लिंकन स्कुल सन् १९५४ मा स्थापना भएको हो। काउन्सिल अफ इन्टरनेसनल स्कुल्स एन्ड न्यु इंग्ल्यान्ड एसोसिएसन अफ स्कुल्सको सम्बन्धनमा सञ्चालित यस स्कुलमा अमेरिकी पाठ्यक्रम पठनपाठन हुन्छ।

यसमा विदेशी कूटनीतिक नियोगका अधिकारीका सन्तान पढ्नछन्। यो मुलुककै सबैभन्दा महँगो स्कुल पनि हो। स्कुलले किन्डरगार्टेनदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ। २५८ जना विद्यार्थी अध्ययनरत स्कुलमा प्रिस्कुलमा ७, नर्सरीदेखि कक्षा ५ सम्म १३३ र कक्षा ५ देखि १२ सम्म ११८ जना विद्यार्थी छन्। यहाँ अध्ययन गर्नेमा ७९ जना अमेरिकी, ८१ जना नेपाली र ९८ जना अन्य मुलुकका बालबालिका छन्।

स्कुलमा कार्यरत ३८ जना विषय शिक्षकमध्ये २९ जना अमेरिकी छन्। स्कुलले शुल्क पनि अमेरिकी डलरमै लिँदै आएको छ। भर्ना फाराम शुल्कबापत प्रिस्कुलमा १ सय डलर र कक्षा १ देखि १२ सम्म ४ सय ५० डलर तिर्नुपर्छ।

नयाँ विद्यार्थी भर्ना शुल्कबापत ७ हजार ५ सय डलर तोकिएको छ। शिक्षण शुल्कबापत वार्षिक रूपमा प्रि-स्कुलको ९ हजार ६ सय ५५ डलर, कक्षा १ देखि ५ सम्म २६ हजार ६७५ डलर, कक्षा ६ देखि ८ सम्म २९ हजार ४०५, कक्षा ९ देखि ११ सम्म ३२ हजार ३९० र कक्षा १२ मा ३२ हजार ५१५ डलर तिर्नुपर्छ।

दुई सेमेस्टरमा पढाइ हुन्छ। शैक्षिक सत्र अगस्टबाट सुरु हुन्छ। पहिलो सेमेस्टर अगस्टदेखि डिसेम्बरसम्म र दोस्रो सेमेस्टर जनवरीदेखि जुनसम्म सञ्चालन हुन्छ।

२. द ब्रिटिस स्कुल

ललितपुरको सानेपामा रहेको द ब्रिटिस स्कुलले बेलायती शिक्षण पद्धतिबाट अध्यापन गराउँदै आएको छ। ब्रिटिस तथा कमनवेल्थ नागरिकका सन्तानलाई लक्षित गरी यो स्कुल सञ्चालनमा ल्याइएको हो। भर्नामा पनि नेपालमा कार्यरत ब्रिटिस र कमनवेल्थ नागरिकका सन्तानलाई प्राथमिकतामा राखिन्छ। नेपाली विद्यार्थीले भने शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएमा मात्रै अध्ययन गर्न पाउँछन्।

स्कुलले प्रिस्कुलदेखि कक्षा १२ सम्म उमेर समूहअनुसार विद्यार्थी भर्ना लिन्छ। कक्षा १ मा भर्ना हुन ६ वर्षदेखि ६ वर्ष ६ महिना उमेर हुनुपर्छ। कक्षा १२ मा पुग्दा उसको उमेर १७ वर्ष ६ महिना ननाघेको हुनुपर्छ।
यस स्कुलले शुल्क पाउन्डमा लिन्छ। रजिस्ट्रेसनबापत दुई सय पाउन्ड तिर्नुपर्छ। यस्तै धरौटीबापत प्रतिविद्यार्थी वार्षिक २ हजार ८ सय पाउन्ड तिर्नुपर्छ।

वर्षभरिमा शिक्षण शुल्कबापत प्रिस्कुलमा चार हजार ७८०, नर्सरीदेखि कक्षा १ देखि ४ सम्म ९ हजार १२०, कक्षा ५ सम्म ११ हजार ५२० र त्यसभन्दा माथि कक्षा १२ सम्म १२ हजार १ सय ८० पाउन्ड शुल्क तोकिएको छ। यसमा सेप्टेम्बरबाट शैक्षिक सत्र सुरु हुन्छ।

३. इन्टरनेसनल फ्रेन्च स्कुल अफ काठमाडौँ

काठमाडौँको लाजिम्पाटमा रहेको इन्टरनेसल फ्रेन्च स्कुल अफ काठमाडौँमा फ्रान्सेली र नेपाली बालबालिका अध्ययन गर्दै आएका छन्। यस स्कुलमा फुल प्रिस्कुल र किन्डरगार्टेन, प्राथमिक तह र माध्यमिक तहमा पढाइ हुन्छ।

विद्यालयले फाराम शुल्कबापत ५ सय युरो र धरौटी शुल्क एक हजार तिर्नुपर्छ।  प्रिस्कुल र किन्डरगार्टेनतर्फ मासिक शुल्क वार्षिक रूपमा आधा दिन (हाफ डे) का लागि ४ हजार ८६० र पूरा दिन (फुल डे) का लागि ७ हजार ३ सय पाउन्ड तोकिएको छ। यस्तै प्राथमिक तहमा ९ हजार ३०, माध्यमिक तहअन्तर्गत ९ हजार ५७० र ११ र १२ मा १० हजार ३० युरो निर्धारण गरिएको छ। यो पनि वार्षिक शुल्क हो।

गाडी भाडाबापत रिङरोडभित्र चार महिनाको २७ हजार नेपाली रुपैयाँ, रिङरोडबाहिर ३४ हजार रुपैयाँ शुल्क तोकिएको छ। खाजाका रुपमा प्रत्येक दिन ५ सय रुपैयाँ तोकिएको छ। विद्यालयले अतिरिक्त क्रियाकलापका लागि भिन्नै शुल्क लिन्छ।

४. काठमाडौँ इन्टरनेसनल स्टडी सेन्टर

ललितपुर ठेचोमा रहेको काठमाडौँ इन्टरनेसनल स्टडी सेन्टर उपत्यकाभित्र सञ्चालित अर्को महँगो स्कुल हो। स्कुलले विद्यार्थीलाई मिसन र ननमिसन गरी दुई भागमा वर्गीकरण गरेर अध्यापन गराउँछ। क्रिस्चियन स्कुल हो। मिसनमा क्रिस्चियन धर्मावलम्बी बालबालिका र ननमिसनमा अन्य धर्मावलम्बी बालबालिकाले पढ्दै आएका छन्।

सन् १९८७ मा स्थापित यो स्कुल ह्युमन डेभलपमेन्ट कम्प्युनिटी सर्भिसेस र नेपाल क्रिस्चियन एड इन नेपालले सञ्चालन गर्दै आएको छ। स्कुलले क्यापिटल लेभीअन्तर्गत विद्यार्थीसँग २ हजार डलर लिन्छ। मासिक शुल्क वार्षिक रूपमा १० हजार डलर लिने गरेको छ। मिसन र ननमिसनका विद्यार्थीलाई फरक शुल्क निर्धारण गरिएको छ। मिसनअन्तर्गतका विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था छ।

५. युलेन्स स्कुल

खुमलटारमा रहेको युलेन्स स्कुल २०६२ सालमा गैरनाफामूलक उद्देश्यले स्थापना भएको हो। नेपाली लगानीमा सञ्चालित यो स्कुलमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ। यसले बैंक स्ट्रिट कलेज अफ एजुकेसन, न्युयोर्क, नवीन र प्रगतिशील शिक्षासँग साझेदारी गरेको छ। स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय स्नातक डिप्लोमा कार्यक्रम (आईबीडीपी) पाठ्यक्रम र राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालन गर्दै आएको छ।

युलेन्स नेपालको पहिलो आईबी स्कुल हो। यहाँ भर्नाका लागि कक्षा १ मा १ सयभन्दा बढीको सिट छ भने माथिल्लो तहमा प्रतीक्षा सूचीका आधारमा हुन्छ। कक्षा १ बाहेक अन्य तहमा सिट उपलब्ध भएमा मात्रै भर्ना लिइन्छ।

स्कुलले विभिन्न शीर्षकमा मासिक ५० हजारभन्दा बढी शुल्क लिँदै आएको छ।

६. रातो बंगला स्कुल

ललितपुरको पाटनढोकास्थित रातो बंगला स्कुल सन् १९९२ मा स्थापना भएको हो। प्रत्येक वर्ष रातो बंगला स्कूलले किन्डर गार्टेनदेखि कक्षा ११ सम्म विद्यार्थी भर्ना लिन्छ। कक्षा १ मा ६० जनाले भर्ना पाउँछन्। विद्यालयको कक्षा १ देखि १० सम्म ६ सय विद्यार्थी क्षमता हो। स्कुलमा कक्षा १ मा ३ सय विद्यार्थीले आवेदन दिन पाउँछन्। अन्य कक्षामा सिट खाली छन् भने प्रतीक्षा सूचीमा नाम भएका विद्यार्थीले मात्र अवसर पाउँछन्।

विद्यालयले सबैले थाहा पाउने गरी शुल्क विवरण सार्वजनिक गर्दैन। विद्यालयको शुल्क विवरण ललितपुर महानगरपालिकासँग पनि छैन। त्यसैले विद्यालयले प्रयोगशाला, पुस्तकालय, र फर्निचर देखाउँदै चर्को शुल्क लिने गरेको आरोप लाग्ने गरेको छ। मासिक शुल्कबापत कम्तीमा ३४ हजार लिने गरेको छ भने भर्ना शुल्क पनि महँगो छ। आवासीय सुविधाका लागि अलग्गै शुल्क लाग्छ।

७. रुपिज इन्टरनेसनल स्कुल

काठमाडौँको बाफलमा रहेको अंग्रेजी माध्यमबाट अध्यापन हुने स्कुल हो रुपिज इन्टरनेसनल। यो स्कुल स्वदेशी एवम् विदेशी विद्यार्थीलाई लक्षित गर्दै सन् १९८२ मा स्थापना भएको हो। यहाँ भारतीय बोर्ड सीबीएसई तथा कक्षा ११ मा ए लेभल क्याम्ब्रिज पढाइ हुन्छ।

स्कुलमा कक्षा १ मा भर्ना गर्दा एक लाख ५ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ। त्यसमा धरौटी रकम पनि समावेश छ। स्कुलले मासिक शुल्क ३२ हजार लिने गरेको छ। यातायात सुविधा लिनेले मासिक ५ हजार ९५० तिर्नुपर्छ।

८. प्रिमियर इन्टरनेसन स्कुल

प्रिमियर इन्टरनेसनल स्कुल ललितपुरको सातदोबाटोमा छ। स्कुलले २०६५ सालदेखि कक्षा १ अध्यापन सुरु गरेको हो। आईबी कार्यक्रमअन्तर्गत अध्यापन हुने स्कुलमा कक्षा १ मा भर्ना लिने गरेको छ। स्कुलले मासिक ४० हजारभन्दा बढी शुल्क लिने गरेको छ।

९. काठमाडौँ वर्ल्ड स्कुल

सीजी होल्डिङ्सको सहकार्यमा भक्तपुरको गुण्डुमा सञ्चालित यस स्कुलले कक्षा १ देखि ९ र ११ कक्षामा नयाँ विद्यार्थी भर्ना लिन्छ। स्कुलले वार्षिक र भर्ना शुल्क गरेर एक लाख सात हजार लिन्छ। मासिक शुल्क ४८ हजार ७ सय तिर्नुपर्छ। यातायात शुल्क अतिरिक्त तिर्नुपर्छ।

१०. इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौँको हात्तीगाैँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुल महँगो स्कुलमा पर्छ। यो स्कुलमा एउटा कक्षामा ३०-३० जनाका दरले दुई सेक्सनमा १ कक्षादेखि १० कक्षासम्म विद्यार्थी भर्न लिइन्छ। विद्यार्थी भर्ना हुँदा विभिन्न शीर्षकमा एक लाखभन्दा बढी तिर्नुपर्छ। कक्षा १ मा विद्यार्थीलाई मासिक शुल्क ३२ हजार निर्धारण गरिएको छ।

प्रकाशित: २७ चैत २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =