समिट अपार्टमेन्ट आसपास भासिएको विषयमा छानबिन गर्न समिति गठन

हिमाल प्रेस २६ चैत २०७९ १८:५५
14
SHARES
समिट अपार्टमेन्ट आसपास भासिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ- ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएको विषयमा छानबिन गर्न अधिकार सम्पन्न सर्वपक्षीय समिति गठन गरिएको छ।

सरोकारवालाहरूको उपस्थितिमा आइतबार ललितपुर महानगरपालिकामा बसेको बैठकले महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा ललितपुर महानगरपालिका प्रवक्ता, वडा नं १ र २ का अध्यक्ष, जिल्ला प्रशासन कार्यालयका अधिकृत, होटेल व्यवस्थापनका तर्फबाट सञ्चित श्रेष्ठ तथा प्रभावित व्यक्तिहरूका तर्फबाट रञ्जनध्वज विष्ट, रचन शाही, प्रविन आचार्य सदस्य छन्। यस्तै समितिको सदस्य सचिवमा ललितपुर महानगरपालिकाको पूर्वाधार निर्माण महाशाखा प्रमुख छन्।

बैठकले परियोजनाबाट प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोडको र्‍यापिड रिलिफ फन्ड स्थापना गर्ने निर्णय गरेको छ। फन्ड परिचालनको विधि, तरिका, प्राविधिक टोली, जोखिमको आकलन, सम्बोधनलगायतका कार्य गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

भत्केका संरचना, चर्केका घरलगायतका प्रभावित संरचनाको क्षतिबमोजिमको क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने सहमति भएको महनगरपालिकाले जनाएको छ।

थप क्षति हुन नदिने सुनिश्चिततासहित आवश्यक कामकारबाही तत्काल व्यवस्थापकले अगाडि बढाउने निर्णय भएको छ। प्रभावित व्यक्तिहरूले क्षतिपूर्ति नपाएसम्मलागि होटल निर्माण सम्बन्धी काम रोक्ने सहमति पनि बैठकमा भएको छ। उक्त संरचना निर्माणमा महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएकाले सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता महानगरपालिकाका तर्फबाट गरिएको छ।

ललितपुरको बखुण्डोल हाइटमा समिट अपार्टमेन्ट बनाउने क्रममा आसपासको जमिन भासिएको थियो। सो क्रममा निर्माणाधीन अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन्। स्थानीयका अनुसार शुक्रबार राति ६ वटा घर भासिएका थिए।

यस्तो छ निर्णय

१‍. प्रभावित व्यक्तिहरुको समस्या तत्काल समाधान, सम्बोधन, सहजीकरणको अगुवाइ गर्न निम्नानुसारको एक अधिकार सम्पन्न सर्वपक्षीय निम्नानुसारको समिति गठन गर्ने।
उपप्रमुख : ललितपुर महानगरपालिका — संयोजक
प्रवक्ता : ललितपुर महानगरपालिका — सदस्य
वडा अध्यक्ष : वडा नं. १ र २ ललितपुर महानगरपालिका —सदस्य
अधिकृत : प्रतिनिधि जिल्ला प्रशासन कार्यालय ललितपुर —सदस्य
प्रतिनिधि होटेल व्यवस्थापनको तर्फबाट (संचित श्रेष्ठ) —सदस्य
प्रतिनिधि २ जना (रञ्जनध्वज विष्ट, रचन शाही, प्रविन आयार्य) प्रभावित व्यक्तिको तर्फबाट — सदस्य
पूर्वाधार निर्माण महाशाखा प्रमुख, ललितपुर महानगरपालिका — सदस्य सचिव

२. यस परियोजनाबाट प्रभावित व्यक्तिहरुको समस्या सम्बोधन गर्ने प्रयोजनका लागि तत्कालका लागि एक करोडको र्यापिड रिलिफ फण्ड स्थापना गर्ने। उक्त कोषको आवश्यकता अनुसारको खर्च व्यवस्थापनबाट थप गर्दै जाने।

३. यस समितिले आवश्यकताअनुसार र्यापिड रिलिफ फण्ड परिचालनको विधि, तरिका, प्राविधिक टोली, जोखिमको आकलन र सम्बोधन लगायतका आवश्यकताअनुसारका कार्यहरु, निर्णयहरु गर्नेछ।

४. सो कोषको परिचालन, व्यवस्थापन सोही समितिले गर्ने।

५. सो कोषको परिचालन र व्यवस्थापन र संचालन विधि समितिले निर्णय गरे बमोजिम हनेछ।

६. यस समितिले सम्बद्ध पक्षसँग, समन्वय, सल्लाह गरी समाधानका उपायहरु पहिचान एवं कार्यान्वयन गर्ने।

७. भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाहरुको क्षति बमोजिमको क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने।

८. थप क्षति हुन नदिने सुनिश्चितता सहित आवश्यक काम कारबाही तत्काल व्यवस्थापकले अगाडि बढाउने।

९. प्रभावित संरचना/व्यक्तिहरुको संबोधन क्षतिपूर्ति परिपूरणको काम सम्बोधन नभएसम्मलागि होटल निर्माण सम्बन्धी काम रोक्ने।

१०. महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएको विषयमा महानगरपालिकले सम्बन्धित पक्षलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने।

११. होटल व्यवस्थापनको तर्फबाट मिति २०७९ चैत २५ गते गरिएका प्रतिबद्धताहरुलाई यसै निर्णयको एनेक्सको रुपमा राखी सम्बोधन गर्दै गर्ने

१२. जोखिम शून्य अवस्थाको सुनिश्चितता व्यवस्थापनले गर्ने। यो प्रयोजनका लागि आवश्यकताअनुसार प्राविधिक टोली परिचालन जिम्मेवारी विभाजनगरी अनुगमन कार्यहरु उल्लिखित समितिले गर्ने।

प्रकाशित: २६ चैत २०७९ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =