बालेनको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर

हिमाल प्रेस २६ चैत २०७९ १६:२९
4
SHARES
बालेनको निर्देशनपछि उठेन सिंहदरबारभित्रको फोहोर फाइल तस्बिर।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठ्न छोडेको छ। मेयर बालेनले शुक्रबार सामाजिक सञ्जालमा ‘सिंहदरबारको फोहोर नउठ्ने’ भन्दै स्टाटस लेखेपछि त्यहाँको फोहोर उठाउँदै आएको परिवर्तन सेवा प्रालिले आइतबारदेखि फोहोर उठाउन छोडेको हो।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेनले फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

‘सिंहदरबारभित्रको फोहोर महानगरपालिकाले पहिलेदेखि नै नउठाएको हो। त्यहाँको फोहोर सहरी विकास मन्त्रालयले ठेक्का दिएपछि निजी कम्पनीले उठाउँदै आएको थियो,’ महानगरपालिका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘सिंहदरबारको फोहोर नउठेको सुनेका छौँ। तर यसमा विभागको केही भूमिका छैन।’

यता महानगरपालिका वडा २९ का वडाध्यक्ष कुश ढकालले वडाका सबै स्थानको फोहोर नियमित उठिरहेको बताए।’वडामा सबैतिरको फोहोर उठिरहेको छ। सिंहदरबारभित्रको फहोर उठिरहेको छैन भन्ने मैले सुनेको छु। तर ‌औपचारिक जानकारी आएको छैन। मेयरज्यूकै निर्देशनमा फोहोर नउठेको हो या अन्य कुनै कारणले नउठेको हो यसबारे म बुझ्नेछु,’ उनले हिमाल प्रेससँग भने।

त्यहाँको फोहोर उठाउँदै आएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्र घिमिरेले काठमाडौँका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए।

उनले भने, ‘हामीले सिंहदरबारको फोहोर उठाएर सिसडोल लाने गरेका थियौँ। मेयरज्यूले फोन गरेर नउठाउनु भनेपछि अहिले फोहोर उठाएका छैनौँ,’ उनले भने, ‘यहाँको फोहोर कहिलेबाट उठ्ने हो हामीलाई थाहा छैन।’ सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक औसत ५ टन फोहोर उठ्ने गरेकोमा अहिले रोकिएको उनको भनाइ छ।

सहरी विकास मन्त्रालयले ठेक्कामार्फत परिवर्तन सेवा प्रालिलाई फोहोर उठाउने जिम्मा दिएको हो। त्यहाँबाट उठेको फोहोर नुवाकोटस्थित सिसडोलमा महानगरपालिकाले नै व्यवस्थापन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =