नापोलीमाथि मिलानको धावा ; लाजियो दोस्रो स्थानमा, रोमालाई राहत

हिमाल प्रेस २० चैत २०७९ ९:४४
14
SHARES
नापोलीमाथि मिलानको धावा ; लाजियो दोस्रो स्थानमा, रोमालाई राहत नापाेलीविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै एसी मिलानका खेलाडी

काठमाडौँ- सिरी ‘ए’ उपाधितिर अघि बढिरहेको नापोलीले घरेलु मैदानमा आइतबार राति एसी मिलानसँग ४-० को फराकिलो हार व्यहोरेको छ। तीन दशकपछि पहिलो पटक च्याम्पियन बन्ने बाटोमा रहेको नापोलीका लागि यो सिजनको तेस्रो हार हो। यसअघि नापोलीलाई इन्टर मिलान र लाजियोले हराएका थिए।

प्रभावशाली विंगरहरु आमनेसामने भएको खेलमा मिलानका राफाएल लिआओ चम्किए। उनले दुुई गोल गरे। पहिलो हाफमै २–० ले अघि बढेको मिलानका अन्य दुई गोल ब्राहिम डियाज र एलेक्सिस साएलेमेकर्सको नाममा रहे।

लिग लिडर नापोली हारेकै दिन दोस्रो स्थानको लाजियोले मोन्जालाई २-० ले हरायो। संयोगवश मोन्जा मिलानका पूर्वअध्यक्ष सिल्भियो बुर्लोस्कोनीको क्लब हो। लाजियोले अपराजित यात्रालाई छैटौँ खेलसम्म जारी राखेसँगै सिरी ए मा पहिलो र दोस्रो स्थानका क्लबबीच दूरी अब १६ अंकमा झरेको छ। नापोलीसँग ७१ र लाजियोको ५५ अंक छ।

उता मिलान भने ५१ अंकसहित तेस्रो स्थानमा छ। गत सिजन लिग विजेता बनेको मिलान यसपालि लिग उपाधि रक्षा सम्भावनाको नजिक पुग्न सकेको छैन। लिगमा १० खेल बाँकी रहँदा मिलान र नापोलीबीच २० अंकको दूरी छ।

नापोली र मिलान यो सिजन फेरि दुई पटक आमनेसामने हुन बाँकी छ। संयोगवश यी दुई इटालेली क्लब च्याम्पियन्स लिग क्वार्टरफाइनलमा भिड्ने तालिका छ।

गोलकर्ता लिआओले नापोलीलाई हराउँदा बयान गर्नै नसकिने भावनाबाट गुज्रिरहेको प्रतिक्रिया दिए। ‘आज मैले गोल नगरेको भए पनि यो जित मेरा लागि उत्तिकै महत्त्वपूर्ण हुन्थ्यो। शीर्षस्थानको टिमलाई हराउन हामीले असाध्यै राम्रो खेल्यौँ। अहिले कस्तो महसुस गरिरहेको छु भनेर बयान नै गर्न सक्दिनँ,’ पोर्चुगलका लिआओले भने।

उच्च गोलकर्ता भिक्टर ओसिमेनबिना मैदान उत्रिएको नापोलीको अग्रपंक्तिलाई मिलानले सजिलै छायामा पार्‍यो। ओसिमेनको अनुपस्थितिमा टिमका दोस्रो उच्च गोलकर्ता भिचा काभारसेलियाले पनि कमाल देखाउन सकेनन्। नापोलीलाई नसोचेको गोल अन्तरमा पन्छाउन सकेपछि मिलानले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

यद्यपि तेस्रो र चौथो स्थानका लागि भइरहेको प्रतिस्पर्धा चर्को छ। मिलान चौथो स्थानमा रहेको इन्टरभन्दा मात्र एक अंकले अघि छ। पाँचौँ स्थानको एएस रोमाको पनि इन्टरको जस्तै ५० अंक छ भने छैटौँ स्थानको एटलान्टासँग ४८ अंक छ। यी सबै टिमले २८-२८ खेल खेलिसकेका छन्।

कम्तीमा चौथो बनेर अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन अबका १० खेल पनि यही लयमा खेल्नुपर्ने मिलानका प्रशिक्षक स्टिफियानो पियोलीको भनाइ थियो। ‘नापोलीविरुद्धको जित पहिलो कदम हो। अझ १० कदम हिँड्न बाँकी छ। ती खेलमा पनि आजकै जसरी खेल्न आवश्यक छ,’ पियोलीले भने, ‘यो सिजन हामीले यसअघिका धेरै खेलमा तीन अंक बटुल्ने मौका गुमायौँ। अब त्यस्तो हुन सक्दैन। जसरी हुन्छ अधिकतम अंक जम्मा गरेर च्याम्पियन्स लिगमा छनोट हुनुपर्छ।’

दोस्रो स्थानमाथि लाजियोको पकड
लाजियोलाई सिरी ए मा १६ औँ जित दिलाउन पेड्रो रोड्रिगेजले पहिलो हाफको १३ औँ मिनेटमा गोलको खाता खोलेका थिए। त्यसपछि कप्तान सेर्जेज मिलिन्कोभिच साभिचले ५६ औँ मिनेटमा लाजियोको दोस्रो गोल गरे। साभिच जनवरी २४ यता गोलविहीन थिए।

‘मैले पछिल्लो समय आफ्नो स्तर अनुसारको खेल देखाउन सकिरहेको थिइनँ। त्यो समय मेरा लागि निकै कठिन रह्यो। तर मैले मेहनत गर्न छाडेको थिइनँ। आज आएर आखिरमा गोल गर्न सकेँ,’ खेलपछि साभिचले भने।

रोममा रोमाले १० खेलाडीमा सीमित साम्पोडोरियामाथि ३-० को जित दर्ता गर्‍यो। पछिल्ला दुई खेलमा लगातार पराजय भोगेको रोमाका लागि जिनी वाइनाल्डमले दोस्रो हाफ सुरु भएको सात मिनेटपछि रोमालाई अग्रता दिलाएका थिए। चोटका कारण सिरी ‘ए’ मा सुरुवाती १९ खेल गुमाएका वाइनाल्डमले मैदान फर्किएपछि दोस्रो पटक गोल गरेका हुन्।

साम्पडोरियाका जेइसन मुरिलो दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएको पाँच मिनेटपछि अग्रता लिएको रोमाले ८८ औँ मिनेटमा पेनाल्टी पायो। जसलाई पाउलो डिबालाले गोलमा परिणत गरे। उनको यो जारी सिजन १० औँ लिग गोल थियो। आतिरिक्त समयमा रोमोको तेस्रो गोल स्टिफन एल सरावीले गरेका थिए।

यो सिजन १९ खेल हारेको साम्पडोरिया १९ औँ स्थानमा यथावत् छ। साम्पडोरियाले २८ खेलबाट १५ अंक बटुल्दा पुछारको क्रेमोनेजेसँग १३ र १८ औँ स्थानको हेल्लास भेरोनाको १९ अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =