पोखरा– गण्डकी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकताकर्ता २२ लाख १२ हजार ८२ जना छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो कुल १ करोड ९१ लाख २ हजार ६५२ मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये करिब २० प्रतिशत हो। गण्डकीमा मोबाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि बढ्दो छ।
राष्ट्र बैंकका अनुसार गण्डकीमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १ लाख ८२ हजार ६८० छन्। देशभरको यो संख्या ७१ लाख १९ हजार ७३३ हो। त्यसैगरी प्रदेशभर डेबिट कार्ड प्रयोग गर्नेको संख्या १० लाख ८४ हजार १८३ छ भने १५ हजार ९९५ जनाले क्रेडिट कार्ड प्रयोग गर्दै आएका छन्।
पुस अन्तिम साता मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको एकीकृत कारोबार सुरु गर्नुपूर्व दुई दिन कारोबार रोकिने सूचना जारी गरिएको थियो। त्यो दुई दिनमा मोबाइल बैंकिङबारे अनगिन्ती फोन आएको बैंकर मीना ज्ञवालीले बताइन्। उनका अनुसार सबैजसोको एउटै गुनासो थियो, ‘मोबाइल बैंकिङ किन चलेन?’
पोखरा लेकसाइडस्थित एनआईएमबीमा कार्यरत ज्ञवाली भन्छिन्, ‘अहिले सानो रकमको चेक साट्नेहरू निकै कम भइसके।’ तीन वर्षअघि कोरोना महामारी फैलिएको बेला ‘पैसा छुन हुन्न’ भन्ने अवधारणा बनेको थियो। जसले डिजिटल बैंकिङतर्फ आममानिसको आकर्षण बढेको जानकारहरूको बुझाइ छ। नेपाल राष्ट्र बैंक पोखराकी उपनिर्देशक सम्झना ढकाल कोरोना महामारीसँगै डिजिटल बैंकिङका ग्राहक बढेको बताउँछिन्।
ढकालको भनाइमा सहमत जनाउँदै लेकसाइडमा सञ्चालित हिमालय जाभामा इन्चार्ज खेम गुरुङ आधा ग्राहकले डिजिटल भुक्तानी गर्न थालेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रोमा आउनेमध्ये ५० प्रतिशतले मात्रै नगद कारोबार गर्छन्।’ तर डिजिटल कारोबार गर्नेहरू शतप्रतिशत स्वदेशी नै भएको व्यवसायीहरू बताउँछन्।
लेकसाइडका पर्यटन व्यवसायी रामप्रसाद ढकालका अनुसार विदेशीले सकेसम्म मुद्रा सटही गरेर नगदै दिन रुचाउँछन्। ‘विश्वास नभएर हो वा किन? नेपाली रुपैयाँ साथमा नभए नजिकैको एटीएम छिर्छन् वा मुद्रा सटहीबाट साटेर आउँछन्,’ उनी भन्छन्, तर आधाजसो नेपाली पर्यटकले भने डिजिटल भुक्तानी नै गर्छन्।’
छैन डिजिटल सटही
नेपालमा २१ मुलुकको मुद्रा सटही गर्ने कानुनी अधिकार छ। पोखरा घुम्न आउने पर्यटकले साटेको विदेशी मुद्रा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा सातामा ५ करोड हाराहारीमा जम्मा हुने गरेको छ।
पोखरा घुम्नेमध्ये भारत र बंगलादेशबाट आउने पर्यटकको संख्या बढी हुन्छ। नेपालमा बंगलादेशको मुद्रा (टाँका) सटहीको अनुमति छैन। यसबारे नबुझेर आएका पर्यटकलाई बारम्बर समस्या परेको व्यवसायीहरू बताउँछन्।
त्यसका साथै पोखराका व्यवसायीले विदेशी मुलुकको भिसा कार्ड र क्रेडिड कार्ड बोकेर आउने पर्यटकको बारम्बर एउटै गुनासो सुन्छन्- ‘नेपालमा कार्ड चलेन।’ मुद्रा सटही व्यवसायी संगठन कास्कीका अध्यक्ष रूपकराज मिश्र डिजिटल सटहीको व्यवस्था नहुँदा यस्ता समस्या बारम्बर आउने गरेको बताउँछन्।
त्यसो त राष्ट्र बैंकले पछिल्लो समय मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गर्दै नगद सटहीमा केही खुकुलो व्यवस्था गरेको छ। तर यो पर्याप्त नभएको व्यवसायी बताउँछन्। मिश्र भन्छन्, ‘कि सबै प्रकारका कार्ड चल्ने व्यवस्था गर्नुपर्यो, नत्र डिटिजल सटहीको लागि व्यवस्था गर्नुपर्यो।’