कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्‍वासको मत लिने

हिमाल प्रेस १५ चैत २०७९ १७:३०
6
SHARES
कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्‍वासको मत लिने

सुर्खेत– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्। शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट विश्वास मत लिन लागेका हुन्।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मालाई राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका छन्। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए।

राष्ट्रिय राजनीति पुरानै गठबन्धनमा रूपान्तरणहुँदा राप्रपाले माघ १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। ‘मुख्यमन्त्री शर्माले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुभएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अहिले आफूसँग कुनै जवाफ नभएको एमालेबाट सरकारमा सहभागी एक मन्त्रीले बताए। ‘मुख्यमन्त्रीले संसदमा दर्ता गराउनु भएको विश्वासको मतसम्बन्धी प्रस्तावबारे जानकारी नै छैन,’ उनले भने, ‘विश्वासको मत लिन लाग्नु भएको हो भने अहिले नै एमालेको धारण केही बनेको छैन।’

एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाह, सामाजिक विकासमन्त्रीमा टेकराज पछाइ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा जीतबहादुर मल्ल सहभागी छन्।

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शर्मा गत पुस २७ गते नियुक्त भएका हुन्। कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका १/ १ जना सांसद रहेका छन्। प्रदेश सभाको बैठक यहीँ चैत १७ गते दिउँसो ३ बजे बस्दैछ।

प्रकाशित: १५ चैत २०७९ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =