अटेरी करदाताको नाम सार्वजनिक, सम्पर्कमा आउन आग्रह

हिमाल प्रेस १२ चैत २०७९ १७:०३
42
SHARES
अटेरी करदाताको नाम सार्वजनिक, सम्पर्कमा आउन आग्रह

जनकपुरधाम- आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिला नगर्ने करदाताको नाम सार्वजनिक गरेको छ। कार्यालयले आइतबार बक्यौता दाखिला गर्न अटेर गर्दै आएका करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नाम सार्वजनिक गरिएको प्रमुख कर अधिकृत किशोर बर्तौलाले जानकारी दिए। ‘पहिलो चरणमा मोबाइलमा कर विवरण दाखिलाका लागि सन्देश पठाएका थियौँ। त्यसपछि हरेक करदातालाई पत्राचार, फोन सम्पर्क र संकलन भ्रमण पनि गरेका थियौँ,’ उनले भने, ‘तर पनि बक्यौता रकम दाखिला नगरिएकाले त्यस्ता करदाताका नाममा सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेका हाैँ।’

उनका अनुसार मूल्य अभिवृद्धि करतर्फको बक्यौता दाखिला नगर्ने दुई सय ६८ र आयकर तथा अन्तःशुल्क तथा टीडीएसतर्फ ३६ करदाताका नाममा सूचना जारी गरिएको र १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न भनिएको छ। ‘अहिले बक्यौता रकम दाखिलाका लागि तीन सय चार करदातालाई सार्वजनिकरूपमा आग्रह गरेका छौँ,’ बर्तौलाले भने।

अब पनि सम्पर्कमा नआए अन्तिम विकल्पका रूपमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्मका प्रक्रियाअनुसार कारबाही र असुलउपर गरिने उनको भनाइ छ।

कार्यालयले आयकरतर्फ २८ करोड रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ७४ लाख २८ हजार आठ सय १७ रुपैयाँ गरी कूल ६० करोड ७४ लाख २८ हजार आठ सय १७ रुपैयाँ बक्यौता उठाउन बाँकी छ। ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको हो। रासस

प्रकाशित: १२ चैत २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =