नेपालमै पहिलोपटक पाटाको शिखर सम्मेलन

हिमाल प्रेस ८ चैत २०७९ १६:४२
10
SHARES
नेपालमै पहिलोपटक पाटाको शिखर सम्मेलन

पोखरा- नेपालमै पहिलोपटक पोखरामा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ। नेपालले पहिलोपटक आयोजना गर्न लागेको पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास लिइएको छ। सम्मेलन आगामी २९ मे देखि १ जुनसम्म चल्नेछ।

नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको थियो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले संस्थाको शिखर सम्मेलन तथा एड्भेञ्चर ट्राभल मार्ट हुनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको बताए।

कोरोना महामारीपछि बिस्तारै चलायमान हुन लागेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोशेढुंगा हुने उनले बताए। सम्मेलनमा १५ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहनेछ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूलआयोजक समिति गठन गरिएको छ। समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था सदस्य छन्।

रेग्मीका अनुसार नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर कार्यक्रमले प्रदान गर्नेछ। ‘नेपालले तेस्रोपटक एड्भेन्चर मार्ट र पहिलोपटक पाटा शिखर सम्मेलन आयोजना गर्न लागेको छ। कार्यक्रमले नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड १९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ।’

एड्भेन्चर मार्टमा विश्वभरका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, साहसिक र पर्वतीय पर्यटनलगायतका विषयमा गहन छलफल हुने पाटाका इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए। नेपाल सरकार, पर्यटन बोर्ड र पाटाको आयोजनामा हुने सम्मेलनको स्थानीय संयोजन पोखरा पर्यटन परिषद्ले गरिरहेको छ।

प्रकाशित: ८ चैत २०७९ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =