पुलिसलाई पहिलो अंक, मनाङको छैन ध्यान उपाधिमा ; गएन उत्तरार्द्धमा गोल खाने फ्रेन्ड्सको बानी

हिमाल प्रेस ४ चैत २०७९ २२:३९
64
SHARES
पुलिसलाई पहिलो अंक, मनाङको छैन ध्यान उपाधिमा ; गएन उत्तरार्द्धमा गोल खाने फ्रेन्ड्सको बानी विदेश जान लागेका रक्षक सरोज योन्जन लामाको बिदाईमा सामूहिक तस्बिर मनाङ मर्स्याङ्दी क्लबका खेलाडी तथा प्रशिक्षक।

काठमाडौँ- फुटबलमा एक अंकको महत्त्व कति? यसको जवाफ नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरेलाई जति अरु कसलाई थाहा होला र। यही एक अंक कमाउन र बचाउन पुलिसले शनिबार कडा मेहनत गर्‍याे। कतिसम्म भने आफ्ना दुई भेट्रान खेलाडीलाई समेत मैदान प्रवेश गरायो।

शनिबार दिउँसो दशरथ रंगशालामा पुलिस अपराजित शृंखलाको भारी बोकेर न्युरोड टिम एनआरटी विरुद्ध उत्रिएको थियो। एनआरटीका संजिव विष्टले ६४ औँ मिनेटमा गोल गरेपछि पुलिसले पाँचौँ पराजय भोग्ने खतरा बढ्यो। तर ११ मिनेटपछि प्रताप गुरुङले फ्रिकिक गोल गरेपछि पुलिस खेलमा फर्कन सफल भयो।

त्यसपछि एनआरटीलाई १५ मिनेट र आतिरिक्त समयभर रोकेपछि पुलिसले सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजनमा पहिलो पटक अंक बटुल्यो। यो एक अंकले तालिकामा पुलिसको स्थानमा परिवर्तन गरेको छैन। तर लगातारको चार हारले व्याकुल बनेको पुलिसलाई एक अंकले राहत भने महसुस गराएको छ। उता एनआरटीको पनि स्थान यथावत छ। पुलिस पुछारमा रहँदा एनआरटी दुई अंकसहित १३ औँ स्थानमा छ।

गोल खाएको ६ मिनेटपछि पुलिसका मुख्य प्रशिक्षक चेतनले जुमानु राईलाई मैदानभित्र पठाएका थिए। पुलिसको रक्षापंक्तिमा ‘कम्युनिकेसन ग्याप’ भएपछि एनआरटीका संजिवले खाली पोस्टमा गोल गर्ने अवसर पाएका थिए। प्रतापले गोल फर्काएपछि खेल कम्तीमा बराबरीमा रोक्न चेतनले सुमन सुवेदीलाई खटाए।

‘अग्रपंक्तिमा बल होल्ड नभइरहेपछि जुमानुलाई मैदानभित्र पठाउनु पर्‍याे। खेलको उत्तराद्र्धमा बढी एरियल थ्रेट भयो। त्यसकारण सुमनलाई उपयोग गर्ने विकल्प हामीसँग थियो,’ चेतनले प्रष्ट पारे।

चेतन कुनै समय जुमानु र सुमनसँगै खेल्थे। एकबेला पुलिसले लगातार तीन पटक लिग जित्दा यी तीन खेलाडी विभागीय टिमको मुख्य खेलाडी थिए। अर्का मुख्य खेलाडी भोला सिलवाल यो सिजन पनि टिममा छन्। यद्यपि भोला मैदान उत्रन बाँकी छ।

‘मैले युवा खेलाडीलाई मौका दिँदै आएको हो। तर अनुभवी खेलाडीको पनि आवश्यकता महसुस गरेकाले जुमानु र सुमनलाई खेलाउनु पर्‍यो। यो परिस्थितिको माग थियो,’ चेतनले भने।

आफ्ना समकालीन खेलाडीलाई प्रशिक्षण दिन कत्तिको गाह्रो हुन्छ? यो प्रश्न चेतनतिर तेर्साइयो। अनि उनीहरू खेल्न फिट छन् त? थपिएको अर्को प्रश्न थियो। ‘भेट्रान्सलाई प्रशिक्षण दिन, खेलाउन पक्कै सजिलो हुँदैन। तर युवा खेलाडीको मनोबल बढाउन भए पनि यसो गर्न आवश्यक थियो,’ चेतनले भने, ‘जुमानु र सुमन १० देखि २० मिनेटसम्म खेल्न सक्छन्।’

खेलपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य खिन्न देखिए। ‘मेरा खेलाडीहरूले योजना र निर्देशन अनुसार खेल्न सकिरहेका छैनन्। पाँचौँ खेलसम्म आइपुग्दा पनि उनीहरूबीच तालमेल मिल्न सकेको छैन। यस्तो लाग्छ उनीहरू एकअर्कालाई चिन्दैनन्,’ राजुकाजीको भनाइ थियो।

एनआरटीले चार विदेशी खेलाडीलाई मैदान उतारेको थिए। ती खेलाडीको प्रदर्शनदेखि पनि राजुकाजीलाई चित्त बुझेको छैन। न त टिममा भएका युवा खेलाडीले नै उनले सोचे अनुसारको खेल देखाउन सकेका छन्।

‘विदेशी खेलाडीबाट आशा थियो। तर उनीहरूले सोचे जस्तो खेल्न सकिरहेका छैनन्। हामीसँग अन्डर–२० का चार–पाँच खेलाडी छन्। तिनको प्रदर्शन पनि ठिक छैन। यो टिमले किन यसरी खेलिरहेको छ, मैले बुझ्न सकेको छैन,’ राजुकाजीले भने।

लिग क्यालेन्डरप्रति पनि राजुकाजीको असन्तुष्टि थियो। पर्याप्त आरामबिना खेल्नु परेपछि खेलाडी घाइते भइरहेको गुनासो उनले गरे। ‘मछिन्द्रका केही खेलाडी घाइते भए। हाम्रा पनि खेलाडी घाइते छन्। पर्याप्त आरामबिना खेलाउनु पर्ने बाध्यता छ। लिग लामो हुनुपर्ने हो। यसरी हतार हतारमा खेलेर कसरी लिग बलियो बन्छ र?’ राजुकाजीको प्रश्न थियो।

मनाङको अपराजित लय
मनाङ मर्स्याङ्दी क्लब शनिबार साँझ नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो। मनाङलाई लिगमा तेस्रो जित दिलाउन कमल थापा र सायिदजामोल डाभ्लाट्जोनोभले एक–एक गोल गरे।

हलुका वर्षाका कारण ओसिला मैदानमा एपीएफले अग्रता लिएको थियो। स्ट्राइकर अर्मान्ड बिडौमले कप्तान नवीन लामाको कर्नरमा हेडर गोल गरेका थिए। बिडौमले लिगमा दोस्रो पटक गोल गरेका हुन्। एपीएफले थ्रीस्टार क्लबलाई हराउँदै लिगको सुरुवात गर्दा पनि बिडौमले गोल गरेका थिए।

दोस्रो हाफको ५२ औँ मिनेटमा मनाङले बराबरी गोल गरेको थियो। होचा कदका फुर्तिला स्ट्राइकर कमल थापाले गोल गर्न विंगर सुमित श्रेष्ठको पासलाई उपयोग गरे। लेफ्ट विंगमा एपीएफका विपीन श्रेष्ठलाई बिट गर्दै अघि बढेका सुमितले बक्सतिर आइरहेका कमलका लागि पास निकालेका थिए। जसलाई कमलले सुन्दर गोलमा परिणत गरे।

मनाङको दोस्रो गोल उज्वेकिस्तानका फरवार्ड डाभ्लाट्जोनोभले ७२ औँ मिनेटमा गरे। मैदान प्रवेश गरेको ६ मिनेटपछि नै डाभ्लाट्जोनोभले बक्सबाहिरबाट गोल गरेका थिए। डाभ्लाट्जोनोभका लागि जारी लिगमा यो तेस्रो गोल हो। मनाङले पछिल्लो खेलमा एनआरटीलाई पराजित गर्दा पनि उनले गोल गरेका थिए। त्यसबेला पनि उनले मैदान छिर्नसाथ मनाङलाई अग्रता दिलाएका थिए।

एपीएफविरुद्ध गोल गरेपछि सायिदजामोल डाभ्लाट्जोनोभल (बीचमा)

‘मैले सधैँ भन्ने गरेको छु, डाभ्लाट्जोनोभको बलियो पक्ष भनेकै बक्समा देखाउने आक्रामकता हो। उनले लगातार आफ्नो खुबी देखाइरहेका छन्। जबकि उनी अझै शतप्रतिशत म्याच फिट भइसकेको छैनन्। अब हामीसँग दुई साताको विश्राम छ। मलाई लाग्छ यो बीचमा उनी पूर्णरुपमा फिट हुनेछन्,’ डाभ्लाट्जोनोभबारे मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले भने।

लिगमा अपराजित रहेका दुई टिममध्येको एक मनाङसँग अब पाँच खेलबाट ११ अंक भएको छ। तेस्रो स्थानको चर्च ब्वाइज युनाइटेडसँग पनि ११ अंक नै छ। तर गोलअन्तरमा मनाङ दोस्रो स्थानमा रहन सफल भएको हो। शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग भने १२ अंक छ।

शीर्षस्थानबाट एक अंकले टाढा रहेको मनाङले उपाधि होडमा सामेल भएको सन्देश दिएको थियो। तर किरणले भने आफ्नो टिमले उपाधि होडबारे नसोचेको बताए। ‘हामी त्यतातिर सोच्न चाहँदैनौँ। किनभने त्यसले खेलाडीमाथि अनावश्यक दबाब सिर्जना गर्छ। म के चाहन्छु भने, मेरा खेलाडी दबाब महसुुस नगरी सुन्दर फुटबल खेलुन्। अहिलेसम्मको खेल हेर्दा उनीहरू रमाइलो मानेरै खेलिरहेका छन्,’ मनाङले शीर्ष चारमा अट्ने लक्ष्य बनाएको बताउने गरेका किरणले भने।

एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले दोस्रो हाफमा रक्षात्मक हुनु नै हारको कारण भएको प्रतिक्रिया दिए। ‘मनाङ रणनीतिक रुपमा अनुशासित टिम हो। यो सिजन मजबुत खेल देखाइरहेको छ। यसकारण हामीले काउन्टरमा गोल गर्ने योजना बनाएका थियौँ। पहिलो हाफमा हामी सफल भयौँ। दोस्रो हाफमा भने हामी रक्षात्मक बन्यौँ। जुन हाम्रो योजना अनुसार थिएन,’ रत्नकाजीले भने।

दोस्रो खेलमा नवप्रवेशी खुमलटार युथ क्लबसँग हारेको एपीएफ सात अंकसहित छैटौँ स्थानमा छ। सातौँ स्थानमा रहेको थ्रीस्टारको पनि सात अंक नै छ। त्यसैगरी आठौँ र नवौँ स्थानका संकटा क्लब तथा खुमलटार युवा क्लबसँग ६–६ अंक छ।

सम्हालिन सकेन फ्रेन्ड्स
शनिबार नै च्यासल रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लबसँग २–१ ले पराजित भएपछि फ्रेन्ड्स क्लब १२ औँ स्थानमा झरेको छ। आर्मीका दीपक गुरुङले आतिरिक्त समयको उत्तराद्र्धमा गोल गरेपछि फ्रेन्ड्स अंक गुमाउन बाध्य भयो। आर्मी भने पाँच खेलबाट आठ अंक जम्मा गरेर पाँचौँ स्थानमा उक्लिएको छ।

खेलमा अग्रता फ्रेन्ड्सले लिएको थियो। राफिक अमिनुले पहिलो हाफको छैटौँ मिनेटमा गोल गर्दा फ्रेन्ड्स अघि बढेको थियो। तर २४ औँ मिनेटमा गिलेप्सी जंग कार्कीले गोल गरेपछि आर्मी खेलमा फर्किन सक्यो। यसअघि दुई खेलमा बराबरीमा रोकिइसकेको आर्मी तेस्रो पटक एक अंकमा सीमित हुनै लाग्दा दीपकले निर्णायक गोल गरे।

फ्रेन्ड्स जारी लिगमा तेस्रो पटक हारेको हो। यसअघि फ्रेन्ड्स उद्घाटन खेलमा खुमलटार युवा क्लब र सातदोबाटो युथ क्लबसँग समान १–० ले पराजित भएको थियो। खेलको उत्तरार्धमा सम्हालिन नसक्दा ती दुवै खेलमा फ्रेन्ड्स अंक गुमाउन बाध्य बन्यो। फ्रेन्ड्सले खुमलटारसँग ८९ र सातदाटोसँग ९० मिनेट कटिसकेपछि गोल खाएको थियो।

सहिद स्मारक ए डिभिजन लिग अब दुई साताको फिफा विश्रामपछि मात्र सुरु हुनेछ। यो बीचमा नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा ‘थ्री नेसन्स कप’ खेल्नेछ। भुटान र लाओस पनि सहभागी हुने यो प्रतियोगिता चैत ८ देखि १७ सम्म हुनेछ।

प्रकाशित: ४ चैत २०७९ २२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =