प्रधानमन्त्री प्रचण्डलाई विश्‍वासको मत दिने १० दलीय गठबन्धनको निर्णय

हिमाल प्रेस ४ चैत २०७९ २०:१४
14
SHARES
प्रधानमन्त्री प्रचण्डलाई विश्‍वासको मत दिने १० दलीय गठबन्धनको निर्णय फाइल तस्बिर

काठमाडौँ– सत्तागठबन्धनमा रहेका दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहित १० दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वकासको मत दिने सहमति भएको हो।

‘सोमबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत दिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले जानकारी दिए।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताए।

बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विश्वासको मत दिन सबै दलका नेताहरू सकारात्मक रहेको जनाए। सत्तासाझेदार १० दलका शीर्ष नेताहरूको बैठकले आइतबार संघीय संसद्‌मा पेस गर्ने विधेयकबारे पनि छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूको सहभागिता थियो।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक बसेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =