सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

हिमाल प्रेस ४ चैत २०७९ १६:४७ | Saturday, March 18, 2023
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

काठमाडौँ- सामाजिक सुरक्षा कोषले हालसम्म पौने चार अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको कोषले हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको कोषले जानकारी दिएको छ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत पाँच करोड ४५ लाख १७ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो।

कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा भुक्तानी गरिएको बताएको छ। कोषमा हालसम्म तीन लाख ९९ हजार एक सय ९२ श्रमिक सूचीकृत भएका छन्।

सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख ७० हजार २९, कोसीबाट ३८ हजार आठ सय ६८, मधेस प्रदेशबाट २१ हजार दुई सय ४१, गण्डकीबाट १५ हजार दुई सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ र कर्णालीबाट एक हजार दुई सय २५ श्रमिक कोषमा आबद्ध भएका छन् ।

कोषमा १७ हजार सात सय ३४ रोजगारदाता सूचीकृत छन्। हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदानमा आधारित रकम संकलन गरिएको कोषले बताएको छ। रासस

प्रकाशित: ४ चैत २०७९ १६:४७ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast