लिगमा कम अनुभवी र नवप्रवेशी क्लबको चकचकी

हिमाल प्रेस ३ चैत २०७९ २१:३६
62
SHARES
लिगमा कम अनुभवी र नवप्रवेशी क्लबको चकचकी चर्च ब्वाइजका आशिष चौधरी (सेतो जर्सीमा) बल अघि बढाउने प्रयासमा।

काठमाडौँ- यसपल्टको सहिद स्मारक ए डिभिजन लिगको सुरुवात अपेक्षाभन्दा केही फरक रह्याे। च्याम्पियन मछिन्द्र फुटबल क्लब लगातार तीन खेलमा जितविहीन हुँदा नयाँ, कम अनुभवी र तुलनात्मक रुपमा कमजोर मानिएका टिम भने जितिरहे।

ए डिभिजन लिगमा डेब्यु गरिरहेको चर्च ब्वाइज र यो लिगमा एक वर्ष पुरानो सातदोबाटो युथ क्लबले सुरुवाती तीनवटै खेल जिते। प्रायजसो अंक तालिकाको मध्यभागमा संघर्षरत रहने जावलाखेल युथ क्लब पनि तीन खेलसम्म अपराजित रह्यो।

जबकि च्याम्पियन मछिन्द्र फुटबल क्लबले सुरुका दुई खेल हार्‍यो। तेस्रो खेलबाट एक अंक बटुलेको मछिन्द्रले पहिलो जित चौथो चरणमा पुगेर मात्र दर्ता गर्न सक्यो। पारम्पारिक शक्ति मनाङ मर्स्याङ्दी क्लबले तीनमध्ये एक खेल मात्र जित्यो। त्रिभुवन आर्मी फुटबल क्लबको लय पनि मनाङको भन्दा फरक देखिएन।

चौथो चरणमा चर्च ब्वाइज बराबरीमा रोकिँदा सातदोबाटोले भने थ्रीस्टार क्लबसँग १–० को साँघुरो पराजय भोग्यो। पाँचौँ चरणमा पहिलो खेल खेल्न पाएको सातादोबाटो बिहीबार शीर्षस्थानमा उक्लियो। एक खेल कम खेलेको चर्च ब्वाइज दोस्रो स्थानमा रहेर शुक्रबार मैदान ओर्लियो। चर्च ब्वाइजको विपक्षी थियो, मछिन्द्र।

ए डिभिजन लिगमा ८० प्रतिशत खेल बाँकी रहेकाले सम्भावित च्याम्पियनको अड्कल गर्ने बेला भइसकेको छैन। तर सुरुवाती लयका कारण चर्च ब्वाइज बलियो दाबेदारका रुपमा देखा परेको सत्य हो। यस्तोमा च्यासल रंगशालामा च्याम्पियन मछिन्द्र र नयाँ च्याम्पियन बन्ने दौडमा रहेको चर्च  ब्वाइजबीचको भिडन्तलाई उपाधि दौडमा फरक पार्ने खेलका रुपमा लिइएको थियो।

च्यासलमा चर्च ब्वाइज मछिन्द्रभन्दा बलियो देखियो। यसको एक कारण थियो, मछिन्द्र १० खेलाडीमा सीमित हुनु। मछिन्द्रले पहिलो हाफको ४२ औँ मिनेटमा पुजन उपरकोटीलाई गुमाएको थियो। पुजनले चर्च ब्वाइजका स्ट्राइकर जोसेफ ओउसु बेम्पाहलाई कुहिनाले हिर्काएपछि सिधा रातो कार्ड पाएका थिए।

आक्रमण बुन्ने मामलामा दुवै हाफमा चर्च ब्वाइज अगाडि रह्यो। गोलका बग्रेल्ती अवसर खेर फालेपछि चर्च ब्वाइजले शीर्षस्थानमा फर्किने मौका गुमायो। ‘खेल हारिएन। एक अंक भए पनि हात लाग्यो,’ चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले भने।

उता मछिन्द्र बराबरीका कारण स्वाभाविक रुपमा सन्तुष्ट देखियो। ‘चर्च ब्वाइज जित लयमा छ। तर हामीले १० जनामा सीमित भएर पनि अंक खोस्यौँ। सन्तुष्ट छौँ,’ मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेको भनाइ थियो।

खेलपछि संयोगवश दुवै क्लबका सहायक प्रशिक्षक ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा उपस्थित भएका थिए। ‘वर्क पर्मिट’ को प्रक्रिया अझै नमिलिसकेका कारण चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईं पत्रकार सम्मेलनमा उपस्थित नभइरहेको सहायक प्रशिक्षक रमेशको भनाइ थियो।

उता मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल राष्ट्रिय टिममा सरेका छन्। उनले अब मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसलाई सघाउनेछन्। कटवाल चर्च ब्वइजसँगको खेल दौरान टचलाइनमा देखिएनन्। मछिन्द्रले नयाँ मुख्य प्रशिक्षक ल्याउने विषयमा निर्णय गरिनसकेको सहायक प्रशिक्षक सन्तोषले जानकारी दिए।

गत वर्ष बी डिभिजन लिग च्याम्पियन बनेको चर्च ब्वाइजले शीर्ष श्रेणीको लिग यात्रा च्यासल रंगशालाबाट सुरु गरेको थियो। पहिलो खेलमा यही रंगशालामा चर्च ब्वाइजले तीन पटकको च्याम्पियन नेपाल पुलिसलाई स्तब्ध बनाएको थियो।

च्यासल फर्किदा चर्च ब्वाइजसँग फेरि एक पटक तीन अंक बोकेर निस्किने मौका थियो। दुई आशिष फिनिसिङमा चुकिरहेपछि चर्च ब्वाइज गोलविहीन बन्न पुग्यो। लेफ्ट विंगमा खेलेका आशिष चौधरी मुख्यतः ‘क्रिएटर’ को भूमिकामा थिए। उनले स्ट्राइकर आशिष चापागाईंका लागि निकै पटक अवसर सिर्जना गरिदिए। तर धेरै पटक आशिष चापागाईं सही क्षणमा सही स्थानमा पुग्न सकेनन्।

आशिष चौधरीले ११ औँ मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएका थियो। आशिष चौधरीबाट २६ औँ मिनेटमा आएको बललाई आशिषले बारमाथि उडाइदिए। कसैको निगरानीमा नरहेका आशिष चापागाईंले यो मौका खेर फाल्दा आशिष चौधरी आक्रोशित बनेका थिए।

५१ औँ मिनेटमा चर्च ब्वाइजले बनाएको मुभमा तीन खेलाडी सहभागी भए। आशिष चौधरीले गरेको क्रस मछिन्द्रको १८ यार्ड बक्सभित्र रहेका आशिष चापागाईंले एरिक विष्टलाई मिलाइदिए। तर एरिक त्यो पासलाई गोलमा परिणत गर्न असफल भए।

चार मिनेटपछि आशिष चौधरीले देखाएको कौशल यो खेलको केही लोभलाग्दा क्षणमध्येको एक थियो। आशिष चौधरीले मछिन्द्रका तीन खेलाडीलाई सुन्दर ढंगमा ‘बिट’ गर्दै अर्का आशिषका लागि क्रस निकालिदिएका थिए। तर यसपल्ट पनि आशषि चापागा गोल गर्नबाट चुके।

चर्च ब्वाइज गत वर्ष बी डिभिजन च्याम्पियन बन्दा यी दुई आशिष क्लबका लागि निर्णायक खेलाडी मात्र होइन, लिगकै ‘प्लेयर्स टु वाच’ बनेका थिए। आखिरमा आशिष चौधरी लिगको उत्कृष्ट खेलाडी चुनिए। अनि आशिष चापागाईं चाहिँ उच्च गोलकर्ता। उनले लिगभर कुल ११ गोल गरेका थिए। ए डिभिजनमा पनि दुई आशिषले दुई–दुई गोल गरिसकेका छन्।

मछिन्द्रले पहिलो हाफमा केही मौका पाएको थियो। मछिन्द्रले ३९ औँ मिनेटमा आकर्षक स्थानमा फ्रिकिकको पायो। जसलाई रक्षक देवेन्द्र तामाङले खेर फाले। त्यसको एक मिनेटपछि नै देवेन्द्रको हेडर बारमा लागेर फर्कियो। मछिन्द्रको पहिलो खेलमा फ्रिकिक गोल गरेका देवेन्द्र शुत्रबार भने ५६ औँ मिनेटमा चोटका कारण मैदान छाड्न बाध्य भए। उनीअघि विमल घर्ती मगरलाई पनि सब्स्टिच्युट गरिएको थियो।

शुक्रबार दिउँसो नै भएको अर्को खेलमा जावलाखेलले थ्रीस्टारलाई १–० ले पराजित गर्‍यो। एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेललाई एनकोटो मासोअबीले १६ औँ मिनेटमा गोल गरेका थिए। जावलाखेलका लागि यो चौथो जित हो। यही जितले जावलाखेललाई तेस्रो स्थानमा पुर्‍याएको छ। पाँचमध्ये एक खेल हारेको जावलाखेलको १० अंक छ।

दोस्रो पटक पराजित थ्रीस्टार सात अंकका साथ छैटौँ स्थानमा छ। नेपाल एपीएफ क्लबसँग पराजय भोगेर लिगको सुरुवात गरेको थ्रीस्टार दोस्रो खेलमा फ्रेन्ड्ससँग बराबरीमा रोकिएको थियो। त्यसपछिका दुई खेलमा नवप्रवेशी खुमलटार युवा क्लब र लिग लिडर सातदोबाटोलाई पराजित गरेको थ्रीस्टारले उपाधि होडमा फर्कने संकेत गरेको थियो। तर २०६९ को लिग च्याम्पियन थ्रीस्टार हारपछि अंक तालिकाको मध्यभागतिर धकेलिने क्रममा छ।

उता शीर्षदुईमा रहेका सातदोबाटो र चर्च ब्वाइजसँग क्रमशः १२ र ११ अंक छ। चौथो स्थानको मनाङसँग आठ अंक छ। मनाङले शनिबार आफ्नो पाँचौँ खेलमा एपीएफको सामना गर्नेछ।

पछिल्ला तीन सिजन नवौँ, छैटौँ र १० औँ स्थानमा रही लिग समापन गरेको जावलाखेल यसपालि सुनिल श्रेष्ठको प्रशिक्षणमा खेलिरहेको छ। घरेलु फुटबलका स्टार भन्न मिल्ने खेलाडीबिनै टिम निर्माण गरेको जावलाखेलले यो सिजन पहिलो खेलमै मछिन्द्रलाई स्तब्ध बनाएको थियो। न्युरोड टिम (एनआरटी) लाई पनि पराजित गरेको जावलाखेल एपीएफसँग रोकियो। जावलाखेल फ्रेन्ड्स क्लबसँग भने पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =