काठमाडौँबाहिर अनलाइन बजार : घरघरमा फापरको झिलिंगा र खुर्पानीको सुकुटी

हिमाल प्रेस २ चैत २०७९ १६:२४
2
SHARE
काठमाडौँबाहिर अनलाइन बजार : घरघरमा फापरको झिलिंगा र खुर्पानीको सुकुटी

गलेश्वर- फापरको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन्। प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले जिल्लाबाहिर पनि बजार पाउन थालेका छन्।

यहाँ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले जिल्लाका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’सम्बन्धी चारदिने तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी गरेको छ।

जिल्लामै खपत हुने फापरको झिलिङगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ।

व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा पनि पुर्‍याउन सकिने तालिमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिका इञ्जिनियर उज्ज्वल पौडेलले जानकारी दिए।

जिल्लामा उत्पादन हुने वस्तुबारे अनलाइनका माध्यमबाट थाहा हुने र सिधा सम्पर्कबाट खरिद गर्न पाउने उनले बताए। अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा यहाँका महिला उद्यमी उत्साहित छन्।
तालिममा अनलाइन माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणमा कसरी काम गर्न सकिन्छ भन्नेबारेमा उद्यमीलाई सिकाइएको थियो। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम दिएको हो।

तालिममा मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो। मुस्ताङका होटल व्यवसायी पनि उक्त तालिमबाट लाभान्वित भएका स्थानीय शोभित शेरचनले बताए।

घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताए।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्दै यस्ता मौलिक उत्पादन विश्व बजारमा समेत प्रवद्र्धन गर्न सक्नुपर्ने बताए। रासस

प्रकाशित: २ चैत २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =