नवीकरण भयो नेपालको एकदिवसीय मान्यता

हिमाल प्रेस २८ फागुन २०७९ १५:५४
14
SHARES
नवीकरण भयो नेपालको एकदिवसीय मान्यता

काठमाडौँ- नेपालले अन्ततः एकदिवसीय मान्यता जोगाएको छ। आइतबार दिउँसो संयुक्त अरब इमिरेट्स (यूएई) माथि १७७ रनको जित हात पारेपछि नेपाल एकदिवसीय टिमका रुपमा रहिरहने पक्का भएको हो। सन् २०१९ को विश्वकपका लागि २०१८ मा भएको छनोट अन्तगर्तको प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएसँगै नेपाल चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो।

एकविदसीय मान्यता सन् २०२२ सम्मका लागि मात्र भए पनि आईसीसीले एक वर्षका लाथि थप गरिदिएको थियो। कोभिड-१९ महामारीका कारण विश्व क्रिकेट प्रभावित भएको भन्दै आईसीसीले एक वर्षका लागि मान्यता थपिदिएको थियो।

युएईलाई हराएपछि आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल चौथौ स्थानमा उक्लिएको छ। लिग-२ को शीर्ष पाँचमा रहे मात्र एकदिवसीय मान्यता जोगिने व्यवस्था छ।

लिग–२ मा अब दुई खेल खेल्न बाँकी नेपालले ३४ खेलबाट ३६ अंक गरेको छ, जुन पाँचौँ स्थानको अमेरिका र छैटौँ स्थानको यूएईको भन्दा क्रमशः एक र पाँच अंकले बढी हो। अब यूएईले आफ्ना बाँकी दुई खेल जिते पनि नेपाललाई भेट्न सक्ने अवस्था छैन। पाँचौँ स्थानको अमेरिकाले भने लिग–२ का सबै खेल खेलिसकेको छ।

घरेलु भूमिमा जारी शृंखलामा बाँकी दुई खेल जिते नेपाल लिग-२ को शीर्ष तीनमा रहँदै अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा सहभागी हुन पाउनेछ। हाल तेस्रो स्थानमा नामिबिया छ। नामिबियासँग ३६ खेलबाट ३९ अंक छ।

धारिला ललित

ललित राजवंशीले पाँच विकेट लिएपछि नेपालले यूएईलाई लगातार दोस्रो पटक हराउन सकेको हो। नेपालले यसअघि दुबईमा भएको शृंखलामा यूएईलाई पराजित गरेको थियो। गत मार्चमा दुबईमै भएको शृंखलामा भने नेपाल दुवै खेलमा हारेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल तयार पारेको थियो। यूएई भने २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो। यो योगफल यूएईले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम योगफल हो।

यसअघि सन् २०१८ मा विश्वकप छनोट अन्तर्गतको खेलमा यूएई ९१ रनमा समेटिएको थियो। सन् २०१९ मा नेपालसँगको खेलमा यूएई ९७ रनमा अलआउट भएको थियो। त्यो यूएईका लागि दोस्रो सर्वाधिक कम योगफल थियो।

ओपनर भृत्य आनन्द ललितको बलमा शून्य रनमा आउट भएपछि यूएईलाई सुरुवाती झट्का लागेको थियो। तेस्रो ओभरमा आर्यान लक्रा पनि शून्यमै पभेलियन फर्किएपछि यूएई संकटमा पर्ने संकेत देखा प¥यो। नेपाली बलर यतिमै रोकिएनन्।

ललितले पाँचौँ ओभरमा कप्तान मोहम्मद वासिमलाई आफ्नो घातक बलिङको सिकार बनाए। वासिम आठ बलमा एक रन बनाएका थिए। छैटौँ ओभरको पहिलो बलमा आशिफ खान आउट भए। १२ बलमा ६ रन बनाएका उनलाई सोमपाल कामीले पभेलियन फर्काए।

छैटौँ ओभर सकिँदा चार विकेटको क्षतिमा आठ रन बनाएको यूएईका लागि आयान अफ्जल खानले सम्हालिएर ब्याटिङ गर्ने प्रयास गरे। तर उनी १७ औँ ओभरसम्म मात्र टिके। उनलाई ललितले कुशल भुर्तेलमार्फत क्याचआउट गराए।

त्यसअघि पाहुना टिमका कप्तान वासिमलाई पनि ललितले नेपाली ओपनर कुशलमार्फत नै क्याचआउट गराएका थिए। यूएईका अन्य ब्याट्सम्यान अश्वान्थ भालथपा १४, रोहन मुस्ताफा ६ र जवार फरिद दुई रनमा सेमेटिए।

ललितजस्तै किफायती बलिङ सन्दीप लामिछानेले पनि गरे। पूर्वकप्तान सन्दीपले १४ रन खर्चिएर दुई विकेट हात पारे। एक विकेट लिनेको सूचीमा सोमपालबाहेक दिपेन्द्र सिंह ऐरी र गुल्शन झा रहे।

कप्तानको अर्धशतक

कप्तान रोहितले एकदिवसीय करियरको आठौँ अर्धशतक प्रहार गरेपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

टस जितेर ब्याटिङ गरेको नेपालको सुरुवात भने सन्तोकजनक रहन सकेको थिएन। ओपनर आशिफ शेख पाँच बल खेल्दा रनको खाता नखोली र अर्का ओपनर कुशल भुर्तेल आठ रनमा पभेलियन फर्किएका थिए। पाँच ओभरभित्र दुवै ओपनर गुमाएको नेपाल कुशल मल्ल पनि सस्तैमा समेटिएपछि झन् अप्ठ्यारोमा परेको थिए।

कुशल मल्ल जुनैद सिद्दिकीको बलमा नौ रन बनाएर आउट हुँदा नेपाल २६/३ को स्थितिमा थियो। कप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ गरेपछि नेपालको इनिङ्स उकालो लागेको थिए। पाँच ओभरको समाप्तिमा १२ रनको स्थितिमा रहेको नेपाललाई उनले १६२ रनमा पु¥याएर बाहिरिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान राखेका रोहितले ११२ बल सामना गरेर ७७ रन बनाए। नेपालका लागि यो उनको आठौँ अर्धशतक हो।

घरेलु टिमका लागि दिपेन्द्र सिंह ऐरीले पनि आक्रामक ब्याटिङ गरे। ४३ औँ ओभरमा आरिफ शेख आउट हुँदा १९२/६ को स्थितिमा रहेको नेपाल दिपेन्द्रको आगमनसँगै प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढेको थियो। उनले १९ बलमा दुई छक्का र तीन चौकासहित ३४ रन बटुले।

नेपालका लागि उल्लेखनीय रन जोड्ने अन्य खेलाडीमा आरिफ शेख र गुल्झन झा रहे। आरिफले ५२ बलमा ४३ र गुल्शनले ३२ बल सामना गरेर ३७ रनक जोडे। त्सैगरी भीम शार्कीको नाममा २९ रन रह्यो।

यूएईका जवार फारिदले नौ रन खर्चिएर दुई विकेट हात पारे। उनीबाहेक जाहुर खान, आयान अफ्जल खान र रोहन मुस्ताफाले पनि दुई–दुई विकेट हात पारे। त्यसैगरी आर्यान लक्रा र जुनैद सिद्दिकीको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: २८ फागुन २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =