एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा नेपाल एक जित टाढा

हिमाल प्रेस २५ फागुन २०७९ १७:१२
28
SHARES
एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा नेपाल एक जित टाढा

काठमाडौँ- नेपाल एकदिवसीय मान्यता जोगाउने लक्ष्यनजिक पुगेको छ। कीर्तिपुरमा बिहीबारबाट सुरु शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएपछि नेपाल आफ्नो प्राथमिक लक्ष्यनजिक पुगेको हो। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ।

ती तीन खेलमध्ये एकमा जित हात पारे नेपाल लिग-२ को शीर्ष पाँचमा रहने पक्का हुनेछ। शीर्ष पाँचमा रहनु एकदिवसीय मान्यता जोगिनु हो। हाल पाँचौँ स्थानमा रहेको नेपालले अबका तीनवटै खेल जिते तेस्रो रहँदै विश्वकप छनोटका लागि छानिनेछ।

लिग-२ मा पीएनजीमाथि पाँचौँ पटक जित दर्ता गरेपछि नेपालको ३३ खेलबाट ३४ अंक भएको छ। जुन चौथौँ स्थानको अमेरिकाको भन्दा एक र छैटौँ स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) को भन्दा तीन अंकले बढी हो। नेपालले आफ्नो दोस्रो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

टस हारेर ब्याटिङ गरेको नेपालले आशिफ शेखको शतकको मद्दतमा ४९.१ ओभरमा २९७ रनको कीर्तिमानी योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको पीएनजी ४७.१ ओभरमा २४५ रन बनाएर अलआउट भयो। पीएनजीलाई लक्ष्य प्राप्तिबाट रोक्न सन्दीप लामिछानेले चार विकेट लिए। त्यसैगरी दिपेन्द्रले दुई र कुशल मल्लले एक विकेट हात पारे।

अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जारी शृंखलाका सबै खेल जित्नुपर्ने दबाबमा रहेको नेपालले पीएनजीको पहिलो विकेट लिन १२ औँ ओभरसम्म पर्खनु पर्‍यो। ओपनर किप्लिन डोरिगा आशिफ शेखबाट रनआउट हुनुअघि टोनी उरासँग ७७ रनको साझेदारीमा थिए।

नेपालले दोस्रो विकेट १४ ओभरभित्रै लियो। तीन रन बनाएका सेसे बाउ दीपेन्द्र सिंह ऐरीको सिकार बने। सन्दीपले १५ औँ ओभरमा अर्धशतकधारी टोनी उराको विकेट लिएपछि पीएनजीको उपल्लोक्रम धराशयी बन्यो। ४४ बलमा ५० रन बनाएका उराभन्दा बढी रन बनाउने ब्याट्सम्यान नोर्मान भानुआ रहे। ४८ औँ ओभरमा रनआउट हुनुअघि उनले ५५ बलमा ६० रन बटुले।

पाहुना टिमका लागि कप्तान असाद भालाले ५३ बल सामना गरेर दुई–दुई छक्का र चौकासहित कुल ४२ रन जोडे। बाँकी ब्याट्सम्यानले उल्लेखनीय रनको योगदान गर्न सकेनन्। चाल्र्स अमिनी १४ रनमा समेटिँदा हिरी हिरी आठ र चाड सोपर शून्यमा आउट भए।

कीर्तिमानी लक्ष्य
लिग-२ मा यसअघि चार खेलमा नेपालसँग पराजित भइसकेको पीएनजीविरुद्ध आशिफले एकदिवसीय अन्तराष्ट्रिय करियरकै पहिलो शतक प्रहार गरे। ओपनर आशिफले ११० बलमा ११० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल तयार पा¥यो। यसअघि कीर्तिपुरमै भएको लिग–२ अन्तगर्तकै शृंखलामा नेपालले नामिबियाविरुद्ध २८७ रन बनाएको थियो।

सेप्टेम्बर, २०२१ मा पीएनजीसँगको खेलबाटै एकविदसीयमा डेब्यु गरेका आशिफ नेपालका लागि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने। यसअघि नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार पूरा गर्ने खेलाडी कप्तान रोहित पौडेल मात्र थिए।

त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाललाई गतिलो सुरुवात दिलाउन आशिफ र कुशल भुर्तेलको ओपनिङ जोडीले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे। कुशल ४५ रन बनाएर १९ औँ ओभरमा आउट भए पनि आशिफ ३८ औँ ओभरसम्म टिके। आशिफले दुई छक्का र १२ चौका प्रहार गरे भने कुशलले ५६ बलमा ६ चौका हिर्काए।

आशिफलाई सेमो कामेआले ३८ औँ ओभरकको चौथो बलमा रिले हेकुरेमार्फत क्याच आउट गराएका थिए। त्यसअघिको बलमा असाद भालाले क्याच छाडेपछि आशिफ जोगिएका थिए। तर फेरि लामो सट खेलेका उनलाई यसपल्ट भने हेकुरले क्याच आउट गराए।

नेपालका लागि उल्लेखनीय रन जोड्ने अर्का खेलाडी भीम शार्की रहे। ३८ बलमा ४४ रन बटुलेका भीमले चार चौका प्रहार गरे। बलियो लयमा देखिएका भीमले दुबईमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ७० रन बनाएका थिए।

भीमसँगै मध्यक्रमका अर्का ब्याट्सम्यान रोहितले ३० रन जोडे भने आरिफ शेख र करण केसीको नाममा १५ र आठ रन रह्यो। सन्दीप एक छक्कासहित कुल सात रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका कामेआले तारिफयोग्य बलिङ गरे। गत मार्चमा कीर्तिपुरमै नेपालसँगकै खेलबाट एकदिवसीयमा डेब्यु गरेका उनले ३८ रन खर्चिएर पाँच विकेट हात पारे। आशिफबाहेक कप्तान रोहित, आरिफ, सन्दीप र भीमको विकेट लिए। पाहुना टिमका लागि हेकुरेले तीन र एलेई नाओले एक विकेट हात पारे।

प्रकाशित: २५ फागुन २०७९ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =