निर्वाचन आयोगलाई रामसहायको जबाफ : उम्मेदवारी संविधानसम्मत छ, उजुरी खारेज गरिपाऊँ

हिमाल प्रेस २८ फागुन २०७९ १२:२५
8
SHARES
निर्वाचन आयोगलाई रामसहायको जबाफ : उम्मेदवारी संविधानसम्मत छ, उजुरी खारेज गरिपाऊँ

काठमाडौँ- उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफ्नो उम्मेदवारी संविधान र कानुनबमोजिम भएको दाबी गरेका छन्। उनको उम्मेदवारीविरुद्ध उजुरी परेपछि यादवले आइतबार त्यसको जबाफ दिँदै उजुरी खारेज गर्न माग गरेका हुन्।

उजुरीका सम्बन्धमा जबाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनलाई उजुरी खण्डन हुने सबुत प्रमाणसहित हाजिर हुन भनिएको थियो।

यादवले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने त्यो व्यवस्था नरहेको जबाफ दिएका छन्। उनले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंगको हुनुपर्ने व्यवस्था संविधानमा नरहेको दाबी गरेका हुन्।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको भन्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित व्यक्तिभन्दा फरक समुदायको (मधेशी) भएको उल्लेख गरेका छन्।

जसपाका सांसद यादवले १० दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन्। यादवका प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन्।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि यादवसहित एमाले नेत्री अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपा नेत्री प्रमिला यादवले उम्मेदवारी दिएका छन्। यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको थियो।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको थियो।

प्रकाशित: २८ फागुन २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =