स्ववियु निर्वाचन : छिटफुटबाहेक त्रिविका सबै क्याम्पसमा उम्मेदवारी दर्ता

हिमाल प्रेस २७ फागुन २०७९ १९:११
4
SHARES
स्ववियु निर्वाचन : छिटफुटबाहेक त्रिविका सबै क्याम्पसमा उम्मेदवारी दर्ता

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता गरिएको छ।

उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको विद्यार्थी संगठनहरूले बताएका छन्।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसबाहेक देशभरका सबै क्याम्पसमा उम्मेदवारी दर्ता सम्पन्न भएको जानकारी दिए।

उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उनले बताए। ‘देशभरका क्याम्पसमा उत्साजनक रूपमा उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ,’ उनले भने, ‘अवरुद्ध भएका केही क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र संवाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौँ।’

शनिबार बिहानै विद्यार्थी संगठनहरू आआफ्ना ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए। स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारी दर्ता गरिएको हो।

शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने समय तोकिएको थियो। सोही अनुसार दर्ता गरिए पनि केही क्याम्पसमा दर्ता प्रक्रियामा अवरोध आएको छ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने कानुनी व्यवस्था छ।

निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्।

निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो।

त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी संठनबीच भएका विवादले निर्वाचन हुन सकेको थिएन। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते केही क्याम्पसमा मात्रै भएको थियो। निर्देशनालयका निर्देशक अधिकारीका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन।

उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्‍मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी संगठनले उत्साहजनक रूपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारको नामावलीमाथि दाबीविरोध आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्न सकिनेछ। उम्मेदवारमाथिको दाबीविरोधमाथि छानबिन गरेपछि आइतबार नै बेलुका ५ बजे नामावली प्रकाशन गरिने छ। फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम त्रिविले तोकेको छ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनमा देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस सहभागित हुनेछन्। रासस

प्रकाशित: २७ फागुन २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =