प्रमुख निर्वाचन आयुक्तले संविधान विपरीत कुरा गरे : पूर्णबहादुर खड्का

हिमाल प्रेस २६ फागुन २०७९ १८:०३
118
SHARES
प्रमुख निर्वाचन आयुक्तले संविधान विपरीत कुरा गरे : पूर्णबहादुर खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्। शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्काले थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

‘महिला उम्मेदवारबाहेक उपराष्ट्रपतिमा उम्मेदवार नबनाउनु भनेको छ, यसमा कांग्रेसको मात्रै टिप्पणी भन्ने होइन, कानुनले के भनेको छ ? नेपालको संविधानले के भनेको छ, फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको छ,’ उनले भने, ‘एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ। तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति/उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाकोविपरीत निर्वाचन आयोगले निर्णय गरेको छ।’

नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको दाबी गरे। संविधानको व्यवस्थाविपरीत आयोगले निर्णय गरेको भन्दै थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको तर्क गरे। आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै खड्काले संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए। प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरू अघि बढ्ने उनको भनाइ छ।

‘उहाँ (थपलिया) ले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन। आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन,’ खड्काले भने, ‘संविधानले स्पष्ट व्यवस्था गरेको छ। प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ। आयोगको सोचाइ, भनाइ के हो ? प्रमुख आयुक्तले संविधानविपरीत कुरा हुनुपर्छ भनेर बोलेको कुरा म पत्याउँदिनँ।’

खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रूपमा आज बैठक बसेको बताए। राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको उनको भनाइ छ। गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै खड्काले प्रमुख नेताहरूको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिए।

‘उपराष्ट्रपतिको बारेमा अहिले हाम्रो कुनै पनि छलफल भएको छैन, चाँडै नै हामी राष्ट्रपति निर्वाचनसँग जोडिएका दलहरूको प्रमुख नेताहरूको बैठक बसेर उपराष्ट्रपति उम्मेदवारको बारेमा निर्णय गर्नेछौँ,’ खड्काले भने, ‘दरखास्त दिने समय भन्दा अघि हामी सर्वसम्मतिले टुंगो लगाउँछौँ। जसपालाई दिने समझदारी आन्तरिक छलफलको विषय हो। आठ दल र त्यसमा जोडिएको १० दलको बीचमा बसेर औपचारिक निर्णय भइसकेको छैन।’

प्रकाशित: २६ फागुन २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =