पूरा होला त उपेन्द्रको संसद् छिर्ने दाउ?

हिमाल प्रेस २५ फागुन २०७९ १८:०७
138
SHARES
पूरा होला त उपेन्द्रको संसद् छिर्ने दाउ?

काठमाडौँ- पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदमा अघि सारेपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसद् छिर्न सहज हुने भएको छ। जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले रामसहायलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर संसद् छिर्नकै लागि अध्यक्ष उपेन्द्रले आफ्ना ‘यस म्यान’ रामसहायलाई उपराष्ट्रपतिमा अघि सारेका हुन्। राष्ट्रपति निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउने सर्तमा जसपाले उपराष्ट्रपति पद लिएको थियो।

राष्ट्रपति चुनावका विषयमा जारी छलफलमा यादवले उपराष्ट्रपतिकै पक्षमा लबिङ गर्दै आएका थिए। २०६३ पछि अधिकांश समय सत्ता निर्माणमा ‘किङ मेकर’ बन्दै आएका यादव यसपल्ट संघीय संसद् प्रवेश गर्न नपाएपछि अन्य दलसँग एकता गर्न, विचार मिल्ने दलसँग मोर्चा बनाउन र संसद् प्रवेश गर्न कसरत गर्दै आएका छन्।

संसदीय दलमा उठ्ने योजनामै नरहेका रामसहाय उपेन्द्रकै जोडबलमा दलको नेता बनेका थिए। उपेन्द्रले रामसहायलाई अघि सार्नुको एउटै कारण हो, चाहेका बेला सजिलै प्रयोग गर्न सकियोस्।

जसपामा राष्ट्रपति पदका लागि अन्य व्यक्ति नभएर हैन, रामसहायलाई उपराष्ट्रपति बनाएर आफू सांसद बन्ने उपेन्द्रको रणनीति रहेको उनी निकट नेताहरू बताउँछन्।

उपराष्ट्रपतिमा रामसहाय विजयी भएमा बारा २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। संसद् छिर्ने रणनीतिका विषयमा यादवले भन्ने गरेका छन्, ‘तपाईंहरूले नै संसद्‌मा मेरो अभाव महसुस गरेपछि प्रयास गर्नु परेन त?’

उपेन्द्रले मंसिर ४ को निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका सीके राउतसँग हारेका थिए। उपराष्ट्रपतिको चुनाव चैत ३ मा तोकिएको छ। राष्ट्रपतिमा भने कांग्ररेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

प्रकाशित: २५ फागुन २०७९ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =