कतारले एलडीसी विकास प्रक्रियामा ६० मिलियन डलर सहयोग गर्ने

हिमाल प्रेस २३ फागुन २०७९ १९:३२
10
SHARES
कतारले एलडीसी विकास प्रक्रियामा ६० मिलियन डलर सहयोग गर्ने

दोहा- कतारका आमिर शेख तामिम विन हमाद अल–थानीले अतिकम विकसित राष्ट्रहरू (एलडीसी)को विकास प्रक्रियामा कतारले ६० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पाँचौं सम्मेलन उद्घाटन गर्दै कतारका आमिर अल–थानीले विश्वका कम विकसित देशहरूको क्षमता विकास गर्न ५० मिलियन अमेरिकी डलर तथा दोहा कार्यक्रमका लागि १० मिलियन अमेरिकी डलर खर्च गर्ने बताएका हुन्।

विश्वका कम विकसित राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको सम्मेलनमा नेपालबाट उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको सहभागिता थियो।

सम्बोधनका क्रममा आमिर अल–थानीले विश्वका कैयौं देशमा भैरहेका द्वन्दले अति कम विकसित देशहरू मारमा परेको पनि बताए। ‘विकसित, कम विकसित तथा अतिकम विकसित मुलुकका जनताको भविष्यबारे योजना बनाउँदा सबै जनताको समान विकासबारे विचार गरिनुपर्छ,’ उनले भने, ‘द्वन्द्व, आतंक, प्राकृतिक प्रकोप एवं कोरोना महामारीले कम विकसित मुलुकलाइ अझै एक दशक पछि धकेलेको छ। ती देशका लाखौं नागरीक अझै पनि सामाजिक आर्थिक बोझले दबिएका छन्।’

गरिबी, शिक्षा, स्वास्थ्य मात्र नभएर उनीहरू खाद्यान्नको अभावमा बाँच्नु परेको पनि उनले औंल्याए। कतारले अन्तर्राष्ट्रिय स्तरमै शान्ति कायम गर्न मध्यस्तताको भुमिका निर्वाह गरेको स्मरण गर्दै आमिर अल–थानीले विकास, मानव अधिकार रक्षा र सुरक्षाको प्रत्याभुतिका लागि कतार सरकारले अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने बताए।

पछिल्लो सयम टर्की र सिरियाले भोग्नुपरेको प्राकृतिक विपत्तिको जिकिर गर्दै उनले त्यस विपत्तिमा भएको मानवीय एवं भौतिक क्षति अपुरणीय भएको बताए। ‘अन्तर्राष्ट्रिय समुदायले यस आपतकालीन समयमा साथ र सहयोग गर्न अपिल गर्छु,’ उनले भने।

टर्कीमा गएको विनासकारी भुकम्पका कारण ५० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। भुकम्प गएपछि कतारका आमिर अल–थानीले टर्की भ्रमण गरी आर्थिक सहयोगका साथै १० हजार अस्थायी घर पनि उपलब्ध गराएका थिए। आइतबारबाट सुरु भएको सम्मेलन फागुन २५ गतेसम्म चल्नेछ।

प्रकाशित: २३ फागुन २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =