प्रचण्डविरुद्ध मुद्दा हाल्नेहरूको प्रश्न : पाँच हजार मार्ने व्यक्ति प्रधानमन्त्री बन्न मिल्छ?

हिमाल प्रेस २३ फागुन २०७९ १७:१८
50
SHARES
प्रचण्डविरुद्ध मुद्दा हाल्नेहरूको प्रश्न : पाँच हजार मार्ने व्यक्ति प्रधानमन्त्री बन्न मिल्छ?

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट दायर गर्नेहरूले पाँच हजार मान्छे मार्ने व्यक्ति कसरी देशको नेतृत्व गर्न सक्छ भन्दै प्रश्न गरेका छन्। २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरू कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।  रिट दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै निवेदक कल्याण बुढाथोकीले २६ जनाले प्रचण्डविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको जानकारी दिए। उनले द्वन्द्वकालमा कानुन विपरितका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको बताए।

‘२६ जनाले दुई वटा रिट निवेदन दर्ता गरेका छौँ। माओवादीहरूले हिजो द्वन्द्वकालमा कानुन विपरितका जघन्य अपराधका जे गरेका थिए त्यही विषयमा रिट निवेदन गरेका छौँ’ उनले भने।

त्यस्तै रिट निवेदक शिवकुमार बुढाथोकीले द्वन्द्वपीडित सम्पती क्षतिबाट ८ जना र माओवादीको कारबाहीमा परी मरेका परिवारका १७ जनाले मुद्दा दर्ता गरेको बताए। प्रधानमन्त्रीले ५ हजार मारेको आफूले जिम्मा लिने भनिसकेकाले मानिस मारेको व्यक्तिलाई कानुनको कठघरामा उभ्याउन रिट दायर गरेको उनको भनाइ छ।

उनले तत्कालीन समयमा माओवादीले आफ्नो सारा सम्पत्ति लुटेको पनि बताए। ‘द्वन्द्वपीडित सम्पती क्षतिबाट ८ जना र उहाँहरूले मारेको मृतक परिवारबाट १७ जना हुनुहुन्छ। प्रचण्डजीले सार्वजनिक रुपमा जिम्मा लिएका मानिसमध्ये हाम्रो मान्छे पनि पर्छन्। मेरो त घरदेखि सबै लुट्नुभएको हो। उहाँले मेरो सम्पत्ति अहिलेसम्म फिर्ता गर्नुभएको छैन। उहाँ प्रधानमन्त्री भएको बेलामा सबैथोक फिर्ता गरे हुन्थ्यो भन्नेकुरा हो,’ उनले भने, ‘मैले सम्पत्तिसहितको माग मागेको छु। उहाँले ५ हजार मैले मारेको छु, म जिम्मा लिन्छु भनेपछि उहाँ कानुन कठघरामा उभिनुपर्ने कि नपर्ने?’

अदालतबाट न्याय पाइन्छ भनेर नै हामीले अदालत रोजेको उनको भनाइ छ। ‘५ हजार मान्छे मार्ने मान्छे देशको प्रधानमन्त्री भएर बस्न मिल्छ? पीडितहरुले न्याय पाउनुपर्छ’ उनले भने। प्रधनमन्त्री दाहालविरुद्ध मंगलबार रिट दर्ता भएको छ। रिटको पेसी बुधबारलाई तोकिएको छ। पेसीको दिन प्रचण्डलाई पनि उपस्थित हुन अदालतले भनेको छ।

प्रकाशित: २३ फागुन २०७९ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =