भीमको अर्धशतकमा नेपालको सम्मानजनक योगफल

हिमाल प्रेस २२ फागुन २०७९ १५:२२
20
SHARES
भीमको अर्धशतकमा नेपालको सम्मानजनक योगफल

काठमाडौँ- भीम शार्कीले अर्धशतक बनाएपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २३० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२९ रन बनायो।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तगर्त दुबई अन्तर्राष्ट्रिय रंगशालामा जारी शृंखलामा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले खराब सुरुवात गरेको थियो। ओपनरद्वय आशिफ शेख र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि १४ रनको मात्र साझेदारी गर्नसके।

अशिफ १४ बलमा ६ रन बनाएर आउट हुँदा पूर्वकप्तान ज्ञानेन्द्रले ११ रन बटुले। यी दुवैलाई जुनैद सिद्दिकीले पभेलियन फर्कादिएका थिए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले नेपाली इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। यूएईसँगको पहिलो खेलमा ६० रन बनाएका कुशल यसपालि ३२ रनमा सीमित रहे। उनले ज्ञानेन्द्रसँग २० रनको साझेदारी गर्न भ्याए।

कुशल र मध्यक्रमका अर्का ब्याट्सम्यान तथा कप्तान रोहित पौडेलसँग पनि मजबुत साझेदारी स्थापना हुन सकेन। कुशल १५ औँ ओभरको पहिलो बलमा रोहन मुस्ताफाको बलमा आउट भए।

रोहित त्यसअघि नै ११ औँ ओभरमा एक रन बनाएर पभेलियन फर्किएका थिए। मध्यक्रमका दिपेन्द्र सिंह ऐरी चार रनमा सीमित भए। रोहितलाई शिकार बनाएका आर्यन लक्राकै बलमा दिपेन्द्र पनि आउट भएका थिए।

रोहितपछि ब्याटिङ थालेका भीमले ९९ बलमा ७० रन बनाए। १२ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको नेपाललाई उनले १८० रनको स्थितिमा पुर्‍याए। एकदिवसीयमा पहिलो पटक अर्धशतक प्रहार गरेका भीमले सन्दीप लामिछानेसँग ८५ बलमा ५६ रनको साझेदारी गरे।

त्यसैगरी सातौँ विकेटका लागि उनले र आरिफ शेख मिलेर ५६ रनकै साझेदारी स्थापित गरे। यी दुई साझेदारीका कारण नेपालले सम्मानजनक योगफल बनाउन सकेको हो।

सन्दीप ४० बलमा २७ रन बनाएर पभेलियन फर्किएका थिए। उनीपछि ब्याटिङ गरेका आरिफको नाममा अविजित ४३ रन रह्यो। त्यसैगरी करण केसी र प्रतिस जीसीले १७ र ११ रन बटुले। अन्तिम बलमा छक्का प्रहार गरेका प्रतिस नटआउट रहे।

घरेलु टिमका लागि जुनैद सिद्दिकीले सर्वाधिक तीन विकेट हात पारे। १० ओभर बलिङ गर्दा ५३ रन खर्चिएका सिद्दिकीले नेपालका दुई ओपनरबाहेक करणलाई आउट गरेका थिए। त्यसैगरी लक्रासँगै रोहन मुस्ताफाले पनि दुई विकेट हात पारे। कार्थिक मेइयाप्पनको नाममा एक विकेट रह्यो।

प्रकाशित: २२ फागुन २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =