सिरी ए : लाजियोसँग हारे पनि नापोलीको शीर्षस्थानमा पकड यथावत्

हिमाल प्रेस २० फागुन २०७९ १२:५२
10
SHARES
सिरी ए : लाजियोसँग हारे पनि नापोलीको शीर्षस्थानमा पकड यथावत्

काठमाडौँ- माटियास भेसिनोले खेलको एक मात्र गोल गरेपछि लाजियोले सिरी ‘ए’ मा लिग लिडर नापोलीलाई १–० ले स्तब्ध बनाएको छ। नापोली जारी लिगमा दोस्रो पटक पराजय भएको हो। यसअघि नापोली जनवरीको पहिलो साता इन्टर मिलानसँग १–० ले नै हारेको थियो।

संयोग नै मान्नुपर्छ नापोलीको दोस्रो पराजयमा इन्टरका पूर्वखेलाडीले गोल गरे। माटिया जाकानीले लामो दूरीबाट गरेको प्रहार नापोलीका भिचा भारासेलियाले क्लियर गर्न खोजेका थिए। तर क्लियर गर्दा उनले प्रहार गरेको बल भेसिनोले भेटे। र, बक्स बाहिरबाट प्रहार गर्दै गोल गरे।

सिरी ‘ए’ मा लाजियोका लागि यो लगातार तेस्रो जित हो। पछिल्ला दुई खेलमा लाजियोले साम्पडोरिया र सालेरनिटानालाई पन्छाएको थियो। लिगमा खेलेका २५ खेलमध्ये १४ मा जित हात पारेपछि लाजियो दोस्रो स्थानमा उक्लिएको छ।

हारका बाबजुत शीर्षस्थानमाथि नापोलीको बलियो पकड यथावत छ। नापोलीको २५ खेलबाट ६५ अंक छ। जुन लाजियो र तेस्रो तथा चौथो स्थानमा रहेका इन्टर मिलान र एसी मिलानभन्दा क्रमशः १७ र १८ अंकले बढी हो।

‘नापोलीको मैदानमा अंक खोस्न सकिन्छ भन्ने मलाई विश्वास थियो। तर मेरा खेलाडीलाई यसका लागि तयार गर्न सजिलो थिएन। हुन त नापोलीले यो सिजन जसरी प्रदर्शन गरेको छ, त्यसले सबैलाई आतंकित बनाएकै छ,’ नापोलीका प्रशिक्षक माउरिजियो सारीले भने।

नापोली च्याम्पियन बन्ने बाटोमा अघि बढिसकेको पनि सारीको भनाइ थियो। ‘नापोलीले लिग जित्नेमा विश्वस्त छु। लुसियानो स्पालेट्टी विशेष खालका प्रशिक्षक हुन्,’ सारीले भने।

नापोली घरेलु रंगशालामा लाजियोविरुद्धको पछिल्ला सात खेलमा अपराजित थियो। ‘यो सिजन हामीले यस्ता कयौँ खेल जितेका छौँ, जुन बराबरीमा सकिन सक्थे। तर लाजियोलाई भने पराजित गर्न सकिएन। हामीले असाध्यै नराम्रो खेल्यौँ। यो तथ्य हो, स्वीकार गर्नुपर्छ,’ स्पालेट्टीले भने।

नापोलीले सिरी ‘ए’ मा अब एटलान्टाको सामना गर्न तालिका छ। त्यसअघि नापोली च्याम्पियन्स लिगमा जर्मन विपक्षी फ्रान्कफर्टसँग भिड्नेछ। अन्तिम १६ को यो प्रतिस्पर्धामा नापोली २–० ले अगाडि छ। उता लाजियो अबका दुई खेलमा बोलान्या र एजे अल्कमारसँग भिड्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =