आर्थिक अनियमिततामा मुछिएका सेनाका उपरथी शाही बर्खास्त

हिमाल प्रेस १८ फागुन २०७९ २०:१५
26
SHARES
आर्थिक अनियमिततामा मुछिएका सेनाका उपरथी शाही बर्खास्त फाइल तस्बिर : शाहीले उपरथीको दर्ज्यानी लगाउँदै गर्दा।

काठमाडौँ-  नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्। बिहीबार सैनिक अदालतले उनलाई सेवाबाट हटाउन आदेश दिएको हो। यसअघि भ्रष्टाचारको आरोपसँगै उनी सैनिक हिरासतमा थिए। आर्थिक अनियमितता र सैनिक अनुशासन उल्लंघन गरेको भन्दै नेपाली सेनाले उनलाई सेवाबाट हटाएको हो।

उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको कोर्ट मार्सलले शाहीलाई सेवाबाट हटाउन बिहीबार आदेश दिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्ण भण्डारीले जानकारी दिए।
‘कोर्ट मार्सलले उपरथी प्रेम शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सेनाका हकमा सैनिक अनुशासन विपरीतको कार्य गरेकाले सैनिक ऐनअनुसार सजाय भएको छ।’

शाहीले सेनालाई लर्कादै आफू सेनाभन्दा माथि भएको व्यवहार देखाएपछि प्रधान सेनापति प्रभुराम शर्माको निर्देशनमा उपरथी पाण्डेको नेतृत्वमा सात सदस्सीय कोर्ट मार्सल गठन भएको थियो। उपरथी शाहीसहितको समूहले सेनापतिविरुद्ध मोर्चाबन्दी गर्ने योजना बनाएको र त्यसका विषयमा छलफल गरेको प्रमाण सैनिक मुख्यालयमा पुगेपछि दुई उपरथी, चार सहायक रथी र एकजना महासेनानीसहितको कोर्ट मार्सल गठन भएको थियो।

आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीमाथि थियो। उक्त आरोपमा उनी दोषी ठहर भएका हुन्। शाहीको आर्थिक अनियमितिता र अन्य अनुशासन विपरितको सजाय भने खुलाइएको छैन।

कोर्ट मार्सलको निर्णयअनुसार शाहीलाई सेवाबाट निष्कासित गरिएको छ। ‘कति रकम कहाँ–कहाँ अनियमितता गरेको भन्ने फैसलाको पूर्णपाठ भने आउन बाँकी छ,’ प्रवक्ता भण्डारीले भने, ‘यो प्रारम्भिक फैसला हो।’

यसरी बर्खास्तीमा परेका शाही नेपाली सेनाका पहिलो उच्चपदस्थ अधिकारी होइनन्। यसअघि नेपाली सेनाका दर्जनभन्दा बढी उच्चपदस्थ अधिकारी सैनिक कोट मार्सलबाट बर्खास्त भएका छन्। उनीहरू सर्वोच्च अदालतबाट सफाई पाएर पुनर्वहाली भएका छन्। उपरथी शाहीसँग सर्वोच्च अदालत जाने विकल्प छ।

प्रकाशित: १८ फागुन २०७९ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =