लिग-२ : नेपालकाे जित शृंखला निरन्तर

हिमाल प्रेस १५ फागुन २०७९ १९:३७
12
SHARES
लिग-२ : नेपालकाे जित शृंखला निरन्तर

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले जित शृंखलालाई पाँचौँ खेलसम्म पुर्‍याएको छ। गत साता घरेलु मैदानमा शृंखला क्लिन स्विप गरेको नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी) माथि चार विकेटको जित हात पार्‍यो। लिग-२ मा नेपालले यसअघि लगातार पाँच खेल जितेको थिएन।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले पीएनजीलाई २०३ रनमा सीमित गरिदिएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २०७ रन बनायो।

मार्च, २०२२ मा दुबईमै पीएनजीलाई दुई पटक हराएको नेपाललाई तेस्रो पटक जित दिलाउन कुशल भुर्तेलले अर्धशतक बनाए। लिग–२ का पछिल्ला दुई खेलमा एक–एक रनमा आउट भएका ओपनर कुशलले यसपल्ट आक्रामक ब्याटिङ गरे। ६९ बलमा ५६ रन बनाएका उनले पाँच चौका प्रहार गरेका थिए।

कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ७६ रनको साझेदारी गरे। आशिफले ३९ बलमा ४४ रन जोडेका थिए। विजयी टिमका लागि आरिफ शेखले ३३, दीपेन्द्र सिंह ऐरीले २२ र कप्तान रोहित पौडेलले २० रनको योगदान गरे।

पीएनजीका लागि असाद भालाले अलराउन्ड प्रदर्शन गरे। तीन विकेट लिएका उनले ३६ रन जोडे। यद्यपि यसले उनको टिमलाई २६ औँ हारबाट जोगाउन सकेन।

त्यसअघि टोनी उरा दुई रन बनाएर सोमपाल कामीको बलमा आउट भएपछि पीएनजीले अपेक्षाकृत सुरुवात गर्न सकेको थिएन। अर्का ओपनर किप्लिन डोरिगाले २९ रन र तेस्रो नम्बरमा ब्याटिङ गरेका सेसे बाउले ३१ रन लिएपछि पीएनजीको इनिङ्स केही हदसम्म सम्हालिएको थियो।

मध्यक्रमका चाड सोपरको नाममा पनि ३६ रन रह्यो। त्यसैगरी मध्यक्रमका नोर्मान भानुआले २५ रनको योगदान गरे।

गुल्शनले नौ ओभरमा २८ रन खर्चिएर तीन विकेट लिए। त्यसैगरी कुशल मल्लको नाममा दुई विकेट रह्यो भने सोमापाल कामी, करण केसी र प्रतिस जीसीले एक–एक विकेट हात पारे।

यूएईमा विजयी सुरुवात गरेपछि नेपालको २९ खेलबाट २८ अंक भएको छ। लिग–२ को शीर्ष पाँचमा रही एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपाल र यूएईबीच एक अंकको दूरी छ। गत साता आफ्नै मैदानमा भएको नामिबियाविरुद्धको शृंखलामा एक खेल मात्र जितेको यूएईले नेपालभन्दा एक खेल कम खेलेको छ। यी दुई टिम आगामी बिहीबार आमनेसामने हुनेछन्।

प्रकाशित: १५ फागुन २०७९ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =