भन्सारमा रोकिए तीन हजार गाडी

हिमाल प्रेस १२ फागुन २०७९ १८:४५
12
SHARES
भन्सारमा रोकिए तीन हजार गाडी

काठमाडौँ– विदेशबाट भित्रिएका गाडी व्यवसायीहरूले नछुटाउँदा भन्सारमा थन्किएका छन्। विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीहरूले बताएका छन्। बैंक तथा वित्तीय संस्थाले गाडी कर्जामा कडाई गर्दा व्यवसायीहरूले भन्सारबाट गाडी नल्याएका हुन्। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार नाकामा गाडी थन्कने क्रम बढ्न थालेको जनाएको छ। नाडाका अध्यक्ष धुव्र थापाले बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा भन्सार नाकामा गाडी रोकिएको बताए।

विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले गत वैशाख १३ गतेदेखि चारपांग्रे गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। आयातमा प्रतिबन्ध लगाउनु अगाडिदेखि नै भन्सार नाकामा गाडी थन्किने क्रम सुरु भएको थियो।

‘प्रतिबन्ध लाग्नु अघिदेखि नै केही व्यवसायीले गाडी छुटाउन सकेका थिएनन्,’ थापाले भने, ‘राष्ट्र बैंकले गाडी कर्जामा गरेको कडाइ नहट्दासम्म ल्याउन सक्ने क्षमता छैन।’ नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीले व्यापार नभएका कारण गाडी ल्याउन नसकिएको बताए। उनले भने, ‘गाडी किन्ने ग्राहक छैनन्, बैंकबाट सहजरूपमा कर्जा पाइएको छैन्, अनि कसरी भन्सार छुटाउन सकिन्छ।’ भन्सार छुटाउनको व्यवसायीले गाडीको मूल्य अनुसार लाखौँ रुपैयाँ बुझाउनुपर्छ।

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप तथा भ्यान आयातमा ठूलो कटौती भएको जानकारी दिए। विगतका वर्षमा वार्षिक १८ हजारभन्दा बढी गाडी भित्रिने गरेकामा गत वर्ष ८ हजार हारहारीमा मात्रै भित्रिएको उनको भनाइ छ। देशमा विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो।

आयातमा प्रतिबन्ध लगाएको करिब ९ महिनापछि सरकारले गत पुस १ गतेदेखि प्रतिबन्ध फुकुवा गरेको थियो। तर पनि बजार अपेक्षाकृत नभएको व्यवसायीहरूले बताएका छन्।

प्रकाशित: १२ फागुन २०७९ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =