पाँच दलीय बैठक स्थगित

हिमाल प्रेस ११ फागुन २०७९ १७:३८
254
SHARES
पाँच दलीय बैठक स्थगित

काठमाडौँ– पाँच दलीय बैठक स्थगित भएको छ। चुनावअगाडिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो।

बैठकअगाडि दलहरू आपसमा छलफलमा जुटेका थिए। तर गठबन्धनमा रहेका दलहरूको संयुक्त बैठक स्थगित भएको गठबन्धनका एक नेताले जानकारी दिए।

बैठकलाई पाँच दलीय गठबन्धन ब्युँतिएको घोषणा गर्ने निर्णायक बैठकका रूपमा लिइएको थियो। तर माओवादी केन्द्रले संयुक्त बैठक नराख्ने प्रस्ताव गरेपछि संयुक्र बैठक स्थगित गरिएको नेताहरुले बताएका छन्।

यसअघि बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाललगायत जसपा, जनमोर्चाका शीर्ष नेताहरूको सहभागिता रहने बताइएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच बुधबार साँझ गठबन्धन ब्युँताउने लगभग सहमति भएको बताइएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दलहरूबीच छलफल भने जारी रहेको बताए। उनले भने, ‘राष्ट्रपतिका विषयमा सहमति जुटाउनका लागि दलहरूबीच छलफल रोकिएको छैन।’

तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो। उक्त गठबन्धनमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र जनमोर्चा थिए। स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा सोही गठबन्धन मिलेर मैदानमा उत्रिएको थियो।

संघीय प्रतिनिधिसभाको निर्वाचनपछि गठबन्धनबाट पहिला प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा बन्ने कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने भन्नेमा विवाद नमिलेपछि नेकपा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

पुस १० गते माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गर्दा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर प्रचण्डले पछिल्लो समय राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिन थालेपछि राष्ट्रपति निर्वाचन पेचिलो बनेको छ।

प्रकाशित: ११ फागुन २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =