रासायनिक मल खरिदका लागि थप साढे ७ अर्ब सुनिश्चित

हिमाल प्रेस ८ फागुन २०७९ १९:४८
8
SHARES
रासायनिक मल खरिदका लागि थप साढे ७ अर्ब सुनिश्चित

काठमाडौँ- अर्थ मन्त्रालयले रासायनिक मल आयातका लागि थप साढे ७ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ। चालू आर्थिक वर्ष २०७९/८०का लागि आवश्यक रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको हो।

रासायनिक मल खरिदका लागि कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार सहमति दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिने र २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने अर्थ मन्त्रालयको भनाइ छ।

बाँकी २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थमन्त्रालयले उल्लेख गरेको छ। रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको अर्थ मन्त्रालयको भनाइ छ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपञ्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए। सो क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए।

प्रकाशित: ८ फागुन २०७९ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =