पाँच वर्ष सरकार चलाउने प्रचण्ड रणनीति : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति

हिमाल प्रेस ८ फागुन २०७९ १०:१२
106
SHARES
पाँच वर्ष सरकार चलाउने प्रचण्ड रणनीति : कांग्रेसलाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति

पाँच वर्ष नै सरकारमा टिक्न प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेर उपराष्ट्रपति जसपालाई दिने रणनीति बनाएका छन्।

काठमाडौँ-  राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलमा सरगर्मी बढेको छ। आफूअनुकूल पात्र वा आफ्नै उम्मेदवारको खोजीमा दलहरू लागेका छन्। राष्ट्रपतिमा मुख्यतः सत्तारुढ गठबन्धनमा विवाद छ।

सत्तारुढ प्रमुख घटक नेकपा एमाले आफैँले राष्ट्रपति पाउनुपर्ने अडानमा छ। गत पुस १० मा एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए।

त्यसबेला एमाले-माओवादीबीच राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्री आधा/आधा कार्यकाल लिने सहमति भएको थियो। तर प्रचण्ड अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाइरहेका छन्। उनी एमालेलाई राष्ट्रपति नदिने बरु राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएका पछिल्ला भेटहरू पनि यसै विषयमा केन्द्रित छन्। पुस १० मा एमालेसँग राष्ट्रपतिमा सहमति भए पनि विश्वासको मतमा कांग्रेसले सहयोग गरेको प्रचण्डले बताउने गरेका छन्।

यही विवादका कारण सत्ता गठबन्धन भत्किने सम्भावना रहेको एमाले-माओवादी नेताहरू बताउँछन्। प्रचण्ड भने ५ वर्ष नै सरकारको नेतृत्व गर्ने चाहनामा छन्। कांग्रेसले पनि राष्ट्रपतिमा माओवादीले समर्थन गरे पाँचै वर्ष सरकार सञ्चालन गर्न दिने संकेत गरेकाे छ।

केही दिनअघि मात्रै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो संकेत गरेका थिए। त्यही कारण पनि प्रचण्ड एमाले छाडेर कांग्रेससँग ढल्किएका छन्।

‘हामी राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छौँ। जसरी प्रधानमन्त्रीमा भयो, त्यसरी नै,’ माओवादी नेता मातृका यादव भन्छन्, ‘एमालेले पनि यो कुरामा अडान राख्दैन भन्नेमा छौँ।’

एमालेसँगको गठबन्धनले सरकार सञ्चालन गर्न गाह्रो भइरहेको प्रचण्डको बुझाइ छ। ओलीले प्रचण्डमाथि हस्तक्षेप गर्दै आएका कारण एमालेको ठाउँमा कांग्रेस हुनुपर्ने प्रचण्डको चाहना छ।

राष्ट्रपति एमाले नदिँदा सत्ताबाट बाहिरिने र कांग्रेसलाई ल्याउन सकिने उनको रणनीति छ। ‘ओलीको शैली अलि निरंकुश छ, उनी हरेक कुरामा भाग खोज्छन्,’ माओवादी निकट एक नेताले भने।

सत्ता भागबन्डामा पनि एमालेले अप्ठ्यारोमा पारेको प्रचण्डको गुनासो छ। ‘रास्वपा, राप्रपालाई पनि लिएर ओलीले बार्गेनिङ गर्छन्,’ प्रचण्डले केही दिनअघि माओवादीको सचिवालय बैठकमा भनेका थिए। ओली सत्ता गठबन्धन संयन्त्रको संयोजक भएदेखि नै प्रचण्ड रुष्ट छन्।

प्रचण्ड राष्ट्रपति र उपराष्ट्रपतिमा आफू उपयुक्त पात्रको खोजीमा छन्। एमालेबाट राष्ट्रपति बन्दा समेत आफूनिकटलाई उनी बनाउन चाहन्छन्। एमालेको उम्मेदवार ओलीको ‘एस म्यान’ नहोस् भन्ने चाहेको माओवादीनिकट एक नेता चाहन्छन्।

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेर उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)लाई दिने योजनामा प्रचण्ड रहेको बताइन्छ। जसपालाई सत्ता गठबन्धनमा ल्याएर कांग्रेस, माओवादी, जसपासहितको गठबन्धन बनाउने उनको योजना रहेको माओवादीनिकट एक नेताको भनाइ छ।

यता जसपा पनि यही संकेत बुझेर उपराष्ट्रपति आफैंले पाउनु पर्ने दाबी गर्दै आएको छ। जसपा केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले पनि सो निर्णय गरेको छ। जसपाले पनि राष्ट्रपतिमा भने राष्ट्रिय सहमति गर्नुपर्ने अडान लिएको छ।

प्रकाशित: ८ फागुन २०७९ १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =