पृतनापतिहरूको बैठकको निष्कर्ष तल्लो इकाइसम्म कार्यान्वयन गर्न सेनापति शर्माको निर्देशन

हिमाल प्रेस १ फागुन २०७९ २१:५५
10
SHARES
पृतनापतिहरूको बैठकको निष्कर्ष तल्लो इकाइसम्म कार्यान्वयन गर्न सेनापति शर्माको निर्देशन

काठमाडौँ– नेपाली सेनामा प्रधान सेनापति प्रभुराम शर्माले पृतनापति समन्वयात्मक बैठकले सैनिक संगठनमा आइपर्ने चुनौती र यसको समाधानको रणनीति पहिल्याउन मद्दत पुगेको बताएका छन्।

आइतबारदेखि जंगी अड्‍डामा सञ्चालन भएको दुई दिने उक्त बैठकको अन्तिम दिन सोमबार (आज) बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

बैठकमा वर्तमान सुरक्षा परिस्थितीको विश्लेषण, अपरेशनल अवस्थालगायत पृतनापतिहरूले प्रधान सेनापतिसमक्ष गरेको कमान्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको ‘भिजन २०३०’ कार्यान्वयनको अवस्थाबारे बुझ्न बैठकले सहयोग पुर्‍याएको उनले बताए।

बैठकमा सञ्चालित तालिमहरूको प्रभावकारिता, पृतना पुनर्स्थापना भएपश्चात कमान्ड कन्ट्रोल र समन्वयको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न कमान्ड सेनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरूको प्रगति सम्बन्धमा गहन छलफल भएको नेपाली सेनाले जनाएको छ।

आगामी कार्यहरू थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै सेनापति शर्माले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरूको लागि पृतनापतिहरूलाई धन्यवाद व्यक्त गरे।

आगामी दिनहरूमा पृतनापतिहरूले बैठकमा भएका छलफलको निष्कर्षलाई तल्लो दर्जा र इकाइसम्म प्रभावकारी हुने ढंगले कार्यान्वयनमा लैजान सहभागीहरूलाई उनले निर्देशन दिए।

सेनापति शर्माले अनुशासन तथा जवाफदेहिताको महत्त्वबारे सहभागीहरूलाई स्मरण गराउँदै सम्बद्ध निकायहरूसँग प्रभावकारी समन्वय राख्दै प्राप्त सबै जिम्मेवारी स्तरीय ढंगले निर्धारित समयमा पूरा गर्न पनि निर्देशन दिए।

‘नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहर हो भन्ने कुरालाई मनन् गर्दै जनताको यो विश्वासलाई कायम राखी रहन संस्थाका सबैले व्यक्तिगत तथा सामुहिक ढंगले प्रयत्न गरिरहनु पर्छ,’ शर्माले भने।

जंगी अड्‍डाबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा सहजता, सम्बद्ध सरकारी निकायहरूसँगको समन्वयमा सरलता तथा स्रोतसाधनको व्यवस्थापन र पहुँचमा सुगमताको आवश्यकता महशुस गरेर सरकारको निर्णयअनुसार ३ जोड १ कमान्ड अवधारणा कायमै रहने गरेर पुनर्स्थापित पृतनाका पृतनापतिहरूले पृतना
पुनर्स्थापना गर्ने निर्णय लक्षित उद्देश्य प्राप्तिमा सहयोगसिद्ध भएको बताए।

८ वटै पृतनाका पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू तथा सम्बन्धित बाहिनीपतिहरूको उपस्थिती रहेको उक्त समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका विषयवस्तुहरूमाथि भएको छलफल तथा अन्तर्क्रियाबाट प्राप्त भएका राय सुझावहरूले नेपाली सेनाको नीति
निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने विश्वास रहेको सेनाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =