गेटामा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १ फागुन २०७९ १३:०९
10
SHARES
गेटामा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री प्रचण्ड

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। सोमबार सो क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‌बाट निर्णय गरेसँगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका हुन्।

‘यसलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो (आइतबार) नै क्याबिनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ,’ उनले भने ‘अब व्यावहारिक रूपमा यसलाई मेडिकल कलेज चलाउनेतिर पनि तीव्र गतिमा अगाडि जान्छ। ’

उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञलगायतसँग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए।

‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो। यो सुदूरपश्चिमको मात्रै होइन देशकै गर्वको कुरा हो,’ उनले भने।

उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रमदेखि नै आफू यससँग प्रत्यक्ष रूपमा जोडिएको बताए। ‘यसको बेस बन्दा गर्दा पनि मैले यसको अनुगमन गरेको थिएँ,’ उनले भने, ‘यसपटक फेरि अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रिया अब अगाडि बढ्यो नै । स्वास्थ्यसँग सम्बन्धित दरबन्दीका काम पनि छिटै पूरा गरिन्छ।’

उनले आफूले प्रदेशस्तरमा विकास आयोजनाहरूको अनुगमन गर्न सुदूरपश्चिमबाटै सुरु गरेको बताए ।

सरकारले आइतबार प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो समयदेखि यसको मोडालिटीका बारेमा टुंगो नलाग्दा १ वर्ष अगाडि नै मेडिकलका लागि आवश्यक संरचना निर्माण गरिँदा पनि सञ्चालनमा आउन सकेको थिएन। गेटामा २०७४ सालदेखि भौतिक संरचना निर्माणको काम सुरु भएको थियो।

हेलिकप्टरमार्फत कैलाली पुगेर गेटा मेडिकल कलेजको अवलोकन गरेका प्रचण्ड आजै (सोमबार) कञ्चनपुर गएका छन्। महेन्द्रनगरमा प्रचण्डले सुक्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम छ।

प्रचण्डले महेन्द्रनगरमा आजदेखि सुरू हुने महोत्सवको उद्घाटन गर्नेछन्। त्यसलगत्तै पार्टी जिल्ला कमिटीले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनी उपस्थित हुनेछन्।

एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर प्रचण्ड आज नै काठमाडौँ फर्कने कार्यतालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =