‘राष्ट्रपतिको सवारी हुँदा जाममा परेँ, मान्छेको गाली सुनेर सांसदको लोगो छोपेँ’

हिमाल प्रेस २९ माघ २०७९ १६:२०
6
SHARES
‘राष्ट्रपतिको सवारी हुँदा जाममा परेँ, मान्छेको गाली सुनेर सांसदको लोगो छोपेँ’

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको विवादित सवारीको समयमा आफू पनि सडक जाममा परेको र त्यसबेला सांसदको लोगो छोप्नुपर्ने अवस्था आएको बताएका छन्। आज आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले भीभीआइपीको औपचारिक कार्यक्रममा जाँदा आउँदा जनतालाई अप्ठ्यारो पार्ने काम गर्न नहुने बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गरेर फर्कनेक्रममा राष्ट्रपति भण्डारीको सवारी हुँदा प्रहरीले चिकित्सकमाथि हातपात गरेको घटनालाई जोडेर उनले नेताहरूलाई मानिसहरूले गाली गरेपछि लोगो छोप्नु परेको बताएका हुन्।

‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ। थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले लोगो छोप्नुपर्‍यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्‍यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले’ उनले भने।

उनले राष्ट्रपतिलाई गाली गरेकोप्रति आपत्ति जनाउँदै सरकारले भीभीआईपीको सवारी प्रणाली नै परिमार्जन गर्न सरकारलाई सुझाव दिए। पन्तले भने, ‘यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने?‘राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने? त्यसैले यस विषयमा म अविलम्ब प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु’

प्रकाशित: २९ माघ २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =